प्रस, वीरगंज, २१ भदौ/
हरितालिका (तीज) हिन्दू महिलाहरूले शुक्रवार धूमधामका साथ मनाएका छन् ।

पर्व मनाउने क्रममा बिहीवार मध्यरातमा व्रतालु महिलाहरूले दर खाएका थिए । आज बिहानदेखि निराहार व्रत बसेर महिलाहरूले शिवालयमा पूजाअर्चना गरी नाचगान गर्दै तीज मनाए ।

बिहानैदेखि वीरगंजका अलखियामठ मन्दिरमा व्रतालु महिलाहरू पूजाको लागि लामबद्ध थिए । प्रत्येक वर्ष अलखियामठ मन्दिरमा तीजको दिन महिलाहरूको भीड हुने गर्छ । यसैगरी, वीरगंजका अजगैबीनाथ मन्दिर, राधेमाई मन्दिर र पशुपतिनाथ मन्दिरलगायत अन्य शिवालयहरूमा पूजा गर्न महिलाहरूको भीड लागेको थियो ।

पतिको दीर्घायु र परिवारको सुख–समृद्धि एवं शान्तिका लागि महिलाहरूले व्रत बसी तीज मनाउने गर्छन् । धर्मशास्त्रका अनुसार सक्नेले निराहार (पानी पनि नपिएर) र नसक्नेहरूले जलाहार (पानी पिएर) अनि फलाहार (फलफूल खाएर) गरी तीन तरीकाबाट व्रत बस्न सक्छन् । दिउँसो पूजा गरेर नसक्नेले जल सेवन तथा फलफूल खाएर व्रत तोड्ने र सक्नेले निराहार व्रत गरी सूर्यास्तपछि पतिको हातबाट पानी पिएर व्रत तोड्ने र राति दियो बालेर जाग्राम बसी बिहानीपख पूजा गरेर व्रत पूरा गर्छन् । त्यसपछि भोजन गरी व्रत तोड्छन् ।

धार्मिक ग्रन्थका आधारमा आजको दिन माता पार्वतीले शिव भगवान् पति पाउँ भनी व्रत बसेपछि मनोकाङ्क्षा पूरा भएको आधारमा हिन्दू महिलाहरूले तीजको व्रत बस्दै आएका हुन् । भाद्र शुक्ल द्वितीयाका दिन दर खाने, तृतीयामा तीज मनाउने र चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर हरितालिका तीज समापन हुन्छ ।

यसपालि तृतीया र चौथी आज एकै दिन परेको छ । तृतीया र चौथी एकै दिन परेकाले ऋषि पञ्चमी भने पर्सि आइतवार भदौ २३ गते मध्याह्नमा गर्दा राम्रो हुने धर्मशास्त्रीहरूको भनाइ छ ।

तीजको अवसरमा नृत्य प्रतियोगिता
नरेश यादव, पर्सागढी/
पर्सागढी नगरपालिका–३ बिरुवागुठी युथ क्लबको आयोजनामा शुक्रवार हरितालिका तीजको अवसरमा दोस्रो पर्सागढी खुला तीज नृत्य प्रतियोगिता सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोकर्ण पाठकले नेपाली हिन्दू महिलाहरूको सबैभन्दा ठूलो चाड देशभर भव्यताका साथ मनाइएको बताए । उनले धार्मिक परम्परा निर्वाह गर्दैै महिलाहरूले पर्वलाई हर्षोल्लासका साथ मनाएका र यसबाट महिलाको आत्मविश्वासमा वृद्धि भएको दाबी गरे ।
उनले नगरपालिका सबै चाडपर्वका साथै विकास निर्माणका काममा पनि साझेदार भएर काम गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासमा साझेदार भएर काम गरेको बताए । पर्सागढी एउटा बगैंचा हो र यसमा विभिन्न खाले बिरुवाहरू भएकाले ती सबैको संरक्षण गर्नेगरी आफूले काम गर्दै आएको बताए ।

पूर्वनगरप्रमुख लोकनारायण यादवले हिन्दू महिलाहरूले निराहार तीज व्रत बसेर धार्मिक परम्परालाई निर्वाह गर्दै आएको र यसले धर्म–संस्कृति जोगिएको बताए । उनले पर्वको अवसरमा सबै महिलालाई शुभकामना दिंदै धर्म–संस्कृतिका बारेमा भावी सन्ततिहरूले पनि ज्ञान लिने बताए ।

उपप्रमुख पूजा चौधरीले हरितालिका तीज नेपाली महिलाहरूको विशेष पर्व भएको बताइन् । उनले सबैखाले रिसरागलाई त्यागेर पर्वमा एकसाथ भएर मनाउनुपर्ने सुझाइन् ।

कार्यक्रममा वडाध्यक्ष सुकमान तामाङ, जनमत पार्टीका केन्द्रीय सदस्य राजेश चौरसिया, वडा सदस्य रामजीवन खाँ थारू, इन्दु माझी, समाजसेवी अशोक बुर्लाकोटी, कार्यपालिका सदस्य सीता लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा १९ समूह सहभागी थिए, जसमा भूपू सैनिक बोर्डिङ स्कूल बडनिहार प्रथम, सिदपुर समूह दोस्रो र पर्सा रेम्बो बोर्डिङ स्कूल बडनिहार तेस्रो भएका थिए । उनीहरूलाई क्रमशः नगद दश, पाँच र तीन हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण रञ्जना खतिवडाले गरेकी थिइन् ।

तीजका व्रतालुको स्वास्थ्य परीक्षण

प्रस, वीरगंज/
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, रूँगटा वेलफेयर सोसाइटी वीरगंज, सामुदायिक आँखा अस्पताल वीरगंज र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका–६ अलखियामठ मन्दिरअगाडि निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजमा मन्दिरमा पूजाका लागि आउने महिलाहरूलाई लक्षित गरेर निश्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए । शिविरमा १६० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here