नितेश कर्ण, वीरगंज, २१ भदौ/
मिथिला क्षेत्रमा शुक्रवार हरितालिका तीजसँगै महिलाहरूले चौठचन पर्व मनाएका छन् । भाद्र शुक्ल पक्षको चौथीका दिन यो पर्व मनाइने गरिन्छ ।

मिथिला क्षेत्रमा खासगरी मैथली र थारू समुदायमा यो पर्वलाई विशेष महŒवका साथ विधिपूर्वक व्रत बसी मनाउने गरिएको छ । तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौठचन आज एकै दिन परेको हो । दिउँसो १२ बजेपछि चौठचन पर्वको साइत शुरू भएको थियो ।

पूजामा सहभागी परिवारका एकजना महिला सदस्य दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमालाई पूजा गरेपछि विधिवत्रूपमा पर्व सम्पन्न गर्छन् ।

भाद्र शुक्ल चौथीका दिन मनाइने चौठचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर सफा बनाइएको आँगनमा चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली व्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौठचन व्रत समापन गर्ने परम्परा छ ।

पूजाको सामग्रीमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री राखेर पूजा गरिन्छ । चौठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छे अनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसम अनुसारका फलफूल चन्द्रमालाई चढाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमैं बसाएर प्रसाद खुवाएपछि पर्व सम्पन्न गरिन्छ ।

चन्द्रमाको आराधना गरिने चौठचन पर्वमा दाल र चामलको पीठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा र खीर, माटोको भाडामा जमाइएको दही, केराको घारीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । यो पर्व खासगरी मैथली र थारू समुदायले मनाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here