‘दीपेशले फेसबूकमा हँसाएरै मासिक ४० हजार कमाउँछन्, छक्का पञ्जाको सफलताले निर्माता उत्साहित, मह जोडीलाई दर्शकको माया, मुन्द्रे कमेडी क्लबको बढ्दो लोकप्रियता, मनोज गजुरेलले हँसाएरै रुवाए ।’ यस प्रकारका समाचार अहिले नेपाली समाजका वास्तविकता हुन् । जसमा नेपालीजनको भावना प्रतिविम्बित हुन्छ । कतिपय समाजमा क्राइम सिरियलहरू बढी रुचाइन्छ भने कतिपय मुलुकमा हरर सिरियल त कतै धार्मिक अनि कुनै समाजमा युद्धका सिरियल तथा मुभीहरू अति लोकप्रिय भइरहेका छन् । त्यहाँको समाजको तत्कालीन प्रतिविम्ब त्यही हो, जहाँ उनीहरूको चासो, चिन्ता र रुचि झल्कन्छ । हाँसो, खुशी संसारका सबै मानवको रुचि र प्रथमिकता हो, तथापि सामाजिक तथा राष्ट्रिय परिवेश, समाजको संस्कार, संस्कृति, परम्परा एवं प्राकृतिक वातावरणले प्रभाव पार्छ । समयको प्रवाहसँगै नेपालीजनले उन्मुक्त हाँसो लामो समयसम्म नपाएको यथार्थ हो । यहाँ राजनीतिक अस्थिरता, सामाजिक सङ्घर्ष र प्राकृतिक विपत्तिहरू कारक छन् । दशकौंको राजनीतिक सङ्घर्ष, व्यवस्था परिवर्तन र गृहयुद्धले नेपालीको दैनिक जीवनमा हाँसो र खुशी ओझेलमा पा¥यो ।
लामो समयको निराशा र दुःखको छायाले मानवको भावनालाई थिचिरह्यो । इतिहास नियाल्दा जहानियाँ राणा शासनमा त नागरिक स्वतन्त्रता परको कुरा थियो, धक फुकाएर हाँस्ने अवस्था पनि थिएन । त्यसपछिको पञ्चायती व्यवस्थामा लामो समयसम्म मनोनुकूल वातावरण नपाएर जनता लोकतन्त्र प्राप्तिको लक्ष्यमा जुट्न पुग्यो । निरन्तर मिसनमा जुट्नुपरेको कारण सर्वसाधारण जनताको लागि हाँसो सहज भएन । पञ्चायतको अवसान भएर बहुदलीय व्यवस्था आएपछि केही हदसम्म जनतामा आशाको सञ्चार भयो, तर माओवादी द्वन्द्वले त्यो अलिकति आशा पनि ध्वस्त पारिदियो । यसले जनतामा थप पीडा र त्रास भिœयाएको हुँदा हाँसो टाढा हुत्तिएन मात्रै, भयमिश्रित हाँसो लिएर एक दशक बाँच्नुप¥यो । जब शान्तिप्रक्रिया शुरू भयो, नेपाली समाजले थोरै भए पनि राहत महसूस गरेको थियो । एउटा लक्ष्य तथा सपना पूरा हुने आस थियो, तर द्वन्द्वकै जगमा उभिएर सत्तामा पुगेका नेताहरूको भ्रष्टाचार, अकर्मण्यता र गलत निर्णयहरूले जनतामा नयाँ निराशा थपिदियो । यस लगत्तै विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले संसारकै हाँसो खोस्यो भने नेपाल त्यसबाट अछूतो रहेन ।
महामारीले ल्याएको स्वास्थ्य सङ्कट, आर्थिक मन्दी र सामाजिक अस्थिरताले नेपाली समाजलाई झन् कमजोर बनायो । हाम्रो आर्थिक स्थिति अझै चुनौतीपूर्ण छ, जनजीविका समस्यामा छ । अब यी सबै समस्याहरूका बीचमा पनि नेपाली समाजले एउटा सत्य आत्मसात गरेको छ–“जीवनमा दुःख, सङ्घर्ष र कठिनाइ त रहन्छ नै, तर त्यसको बीचमा पनि हाँसोको खोजी गरिनु आवश्यक छ ।” कैयौं शासन प्रणाली भोग्दै लामो समयदेखि रोकिएको नेपालीको हाँसोको बाँध अब क्रमशः फुट्दैछ, प्रस्फुटित हुँदैछ । जसको परिणामस्वरूप हाम्रो समाजमा हाँसोको कला र व्यवसाय रुचाइँदै र फस्टाउँदै गएको छ । हास्य चलचित्र, हास्य कार्यक्रम, हँसाउने च्यानलहरू लोकप्रिय भइरहेका छन् । यहाँ आज हाँसोको व्यवसाय मात्र होइन, हाँस्न सिकाउने कलाको पनि खाँचो छ । त्यसैले सरकारी स्तरबाट नै हास्यकलाको प्रवद्र्धन जरुरी छ ।