प्रस, परवानीपुर, २० भदौ/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेस सरकारले आठ जिल्लाका पत्रकारहरूको लागि रु एक लाखको स्वास्थ्य बीमा र सात लाखसम्मको दुर्घटना जोखिम बीमाको व्यवस्था गरी चालू आवको बजेटमा रकम विनियोजन गरिसकेको बताएका छन् ।

न्यूज २४ टेलिभिजनको वीरगंजमा बिहीवारदेखि सञ्चालनमा आएको प्रादेशिक कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले चालू आवमा स्वास्थ्य र दुर्घटना बीमाको लागि रकम विनियोजन गरिएको र सोहीअनुरूप मधेस प्रदेशका पत्रकारहरूको बीमा गरिने बताए । उनले बीमामा समाहित हुने पत्रकारहरूलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे ।

उनले देशमा सङ्घीयता आएको सात वर्ष बितिसक्दा पनि प्रदेश सरकार मातहत प्रहरी आउन नसकेकोमा चिन्ता व्यक्त गरे । प्रहरी समायोजन हुन नसक्दा अहिले पनि सङ्घीयता महसूस हुन नसकेको उनको भनाइ थियो । प्रदेशका आठवटा जिल्लाका सुरक्षा निकायलाई प्रदेश सरकार मातहतमा राख्दा जिल्लामा चुस्तदुरुस्त सेवाप्रवाह गर्न मदत मिल्ने भन्दै उनले यसमा ढिला नगर्न सङ्घ सरकारलाई आग्रह गरे । उनले सातवटै प्रदेशमा समान अधिकार बाँडफाँडको लागि सङ्घीयता आवश्यक रहेको बताए ।

मुख्यमन्त्री सिंहले आगामी दिनमा मिडियाबाट मधेसका धार्मिक, पर्यटकीय गन्तव्यका चारवटा सर्किट, आर्थिक एवं औद्योगिक कोरिडोरका कुरा, सामाजिक, सांस्कृतिक तथा आवाजविहीनका सन्देशसहितको आवाज उठान गरेर यहाँका समस्या एवं सामथ्र्यबारे देश दुनियाँलाई बताउन सुझाए ।

न्यूज २४ टेलिभिजनका नेपाल ब्यूरो प्रमुख राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here