प्रस, वीरगंज, २० भदौ/
खानेपानीमन्त्री प्रदीप यादवले शिक्षित र सक्षम युवा पुस्ता नै नेपाललाई समृद्ध र स्वावलम्बी बनाउने प्रमुख आधार भएको बताएका छन् ।
बिहीवार वीरगंज महानगरपालिका–३० ले आयोजना गरेको एसइई उत्तीर्ण गरेका छात्राहरूलाई कम्प्युटर वितरण तथा लोकसेवा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा ल्यापटप वितरण कार्यक्रममा बोल्दै उनले प्राविधिक शिक्षाको महŒवमाथि जोड दिए ।
मन्त्री यादवले भविष्यको कर्णधारसम्म प्रविधिको पहुँच दिलाउन यस्ता कार्यक्रमहरू महŒवपूर्ण हुने बताए । उनले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्दै उनीहरूको क्षमता र दक्षता बढाउन सहयोग पुग्ने बताए ।
मन्त्री यादवले वर्तमान सरकारले शिक्षा र प्रविधिमा पहुँचका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए ।
कार्यक्रममा नगरप्रमुख राजेशमान सिंहले प्रविधिमा पहुँचले विद्यार्थीहरूको भविष्य अझ उज्यालो बनाउन मदत गर्ने बताए । उनले वीरगंज महानगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा वडाध्यक्ष मनोजकुमार यादवलगायतले गत वर्ष एसइई परीक्षामा सहभागी भई उत्तीर्ण हुने वडा नम्बर ३० का २६ जना छात्राहरूलाई कम्प्युटर वितरण गरिएको बताए । त्यस्तै शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई पदस्थापन भएका वडाका दुईजनालाई ल्यापटप र वडाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नौजना स्वयंसेविकाहरूलाई स्मार्ट फोन वितरण गरिएको वडाध्यक्ष यादवले बताए ।
कार्यक्रममा जिसस पर्साका निवर्तमान सभापति नेक मोहम्मद मियाँँ, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारीलगायत सहभागी थिए ।