बितेको अगस्त महीनामा विश्वव्यापी तापमान हालसम्मकै उच्च मापन गरियो । बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ) का प्रमुखले बताएका छन् । विश्वमा लगातार दोस्रो वर्ष अगस्तमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको हो । सो अवधिमा कुनै एक विशेष स्थानमा मात्रै नभएर अस्ट्रेलिया, जापान, चीन र नर्वेका केही भागमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ । इयुको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ ले गत वर्ष अगस्तमा मापन गरिएको तापमान रेकर्ड १६.८२ डिग्री सेल्सियसभन्दा माथि देखाएको छ । तथ्याङ्क अनुसार पछिल्लो समयमा क्लाइमेट चेन्ज सर्भिसले अपेक्षाभन्दा तापक्रम वृद्धिको दर बढी छ । अगस्तसम्मको रेकर्डले सो भन्दा १५ महीना अघिदेखिको तापमान वृद्धिलाई निरन्तरता दिएको हो । त्यसमा पनि प्रत्येक महीनाले अघिल्लो वर्षको आप्mनै तापक्रमको रेकर्ड तोडेको पाइएको छ ।
तापमान बढ्नुका प्रमुख कारणहरूमा जलवायु परिवर्तन, ग्रीनहाउस ग्याँसहरूको उत्सर्जन र प्राकृतिक परिवर्तनहरू हुन् । मानव गतिविधिले वायुमण्डलमा ग्रीनहाउस ग्याँसहरू कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडको मात्रा वृद्धि भएको छ । यी ग्याँसहरूले पृथ्वीको सतहमा तापमानको वृद्धि गरिरहेका छन् । वायुमण्डलीय ग्याँसहरू अत्यधिक मात्रामा एकत्रित हुँदा ‘ग्लोबल वार्मिङ’ निम्त्याएको छ, जसले अत्यधिक गर्मी बढेको छ । औद्योगिक क्रान्तिपछि मानव गतिविधिहरू, जस्तै–औद्योगिक उत्सर्जन, गाडीको धूवाँ र ऊर्जा उत्पादनका कारण ग्रीनहाउस ग्याँसहरूको उत्सर्जन तीव्ररूपमा बढेको छ । यसले तापमान वृद्धिको दर तीव्र बनाएको छ । जलवायु परिवर्तन केवल एक वा दुई वर्षको कुरा होइन, यो एउटा दीर्घकालीन प्रक्रिया हो । यसमा केही प्राकृतिक परिवर्तनहरू पनि कारक छन् । केही विशिष्ट मौसमीय घटनाहरू जस्तै एल निनो र ला निनाको प्रभावले पनि तापमानमा असामान्य वृद्धि भएको छ । जस्तै ‘एल निनो’ ले प्रशान्त महासागरको सतहको तापमान बढाएको छ भने दक्षिण अमेरिकामा अधिक वर्षा, अस्ट्रेलिया र पूर्वी एशियामा सुखा गराएको छ । त्यस्तै ‘ला निना’ ले प्रशान्त महासागरको सतहको तापमान घटाउँछ, अस्ट्रेलिया र पूर्वी एशियामा अधिक वर्षा गराउनुका साथै दक्षिण अमेरिकामा कम वर्षा र सुखा निम्त्याउँछ । यी दुई घटनाहरू जलवायु प्रणालीका अंश हुन् र विश्वभरका मौसम तथा जलवायुमा यसले महŒवपूर्ण प्रभाव पारिरहेको छ ।
विगतमा पनि उद्योग, कलकारखाना थिए । सवारी साधनहरू थिए, तर विगतको तुलनामा पछिल्लो १५ महीनादेखि तापमान लगातार उकालो लागिरहेको छ । यसका केही विशिष्ट कारण छन् । कोभिड–१९ महामारीपछि उद्योग र अर्थतन्त्रको पुनरुद्धारसँगै, औद्योगिक गतिविधि र ऊर्जा प्रयोगमा अत्यधिक वृद्धि भयो । कोभिड अवधिको मन्दी एवं घाटा पूर्ति गर्न प्रतिस्पर्धा चलेको छ । यसले औद्योगिक प्रदूषण बढाउँदा ग्रीनहाउस ग्याँसको उत्सर्जन बढेको छ । यसका अतिरिक्त, ऊर्जा सुरक्षा र आपूर्तिको चिन्ताले जीवाश्म इन्धनको प्रयोगमा वृद्धि भयो । उदाहरणका लगि कोभिड अघि ग्याँस प्रयोग हुने धेरै गाउँ–घरमा कोभिडपछि दाउरा र गुइँठा बल्न थालेका छन्, कतै मट्टीतेल पनि । तापमान वृद्धिका अन्य धेरै सहायक कारण हुन सक्छन् ।