थारुवान र बझियानमा सडनवा रोगको प्रकोप

धर्मेन्द्र चौरसिया, पोखरिया, १९ भदौ/
पर्साका किसानहरू अहिले धानबालीमा लाग्ने सडनवा (शीतब्लाइट) रोगको कारण पीडित छन् । पर्सा जिल्लाका बझियान र थारुवानका किसानहरूले रोपेको धानबालीमा अहिले यो रोग देखा परेको छ ।

पकाहामैनपुर गाउँपालिका कार्यालयको कृषि शाखा प्रमुख हरिनारायण चौरसियाले जिल्लाका करीब ७० प्रतिशत धानबाली सडनवा रोगबाट प्रभावित भएको बताए ।

उनले खासगरी एकै जातको धान खेती गर्ने र धान रोपाइँका बेलामा पोटास प्रयोग नगर्ने किसानहरूका खेतमा यस प्रकारको रोग देखा परेको बताए । सडनवा रोग लागेको धानबाली जरैदेखि सुक्दै जाने र पछि कुहिएर बाला झर्ने समस्या देखिएको उनले बताए ।

चौरसियाले एकै जातको सोना मन्सुली थारुवान र बझियानका किसानहरूको पहिलो प्राथमिकतामा पर्दै आएको र धानको जात परिवर्तन नगर्दा पनि यो रोगको समस्या देखिएको बताए । एकै जातको धान रोप्दा यस प्रकारको समस्या हुने गरेको र अर्को पोटास प्रयोग नगर्ने खेतमा पनि सडनवा रोग लाग्ने बताए । उनले रोपाइँको बेलामा युरिया, डिएपीसँगै पोटास पनि प्रयोग गर्ने किसानहरूको खेतमा यो रोगको समस्या नदेखिएको बताए ।

प्रमुख चौरसियाले अहिले रोग लागेको खेतमा हेप्साकोनाजोल प्रतिकट्ठा १५ लिटर पानीमा ४५ एमएल मिलाएर स्प्रे गर्दा बाली बचाउन सकिने बताए । उनले पर्सा जिल्लाका समस्याग्रस्त स्थानहरूमा अहिले किसानहरूले धमाधम यो औषधिको प्रयोग गरेर बाली बचाउने कार्य गरिरहेको जानकारी गराए ।

प्रमुख चौरसियाले किसानहरूले सो औषधि धानबालीमा बिहान १० बजेपछि मात्र छर्नुपर्ने बताए । उनले एकाबिहानै औषधि छर्दा शीतको कारण औषधिले काम नगर्ने भन्दै १० बजेपछि घाम लागेको अवस्थामा र खेतमा पानी रहेको अवस्थामा औषधि छर्दा प्रभावकारी हुने बताएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्