नागरिकताको प्रतिलिपि लिन वर्ष दिन

प्रस, जनकपुरधाम, १९ भदौ/
धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ निवासी आशादेवी मण्डलले आवेदन दिएको एक वर्षपछि नागरिकताको प्रतिलिपि पाएकी छन् ।

५१ वर्षीया मण्डलले जिल्ला प्रशासन कार्यालय, धनुषाबाट बुधवार नेपाली नागरिकताको प्रतिलिपि पाएकी हुन् । प्रतिलिपि प्राप्त गर्न उनले लगातार एक वर्ष जिल्ला प्रशासन कार्यालय धाएकी थिइन् ।

प्रतिलिपिको लागि अनुसूची भरेर नागरिकता प्रमाणपत्रको प्रतिलिपि फाँटमा बुझाएकोमा फाँटवाला कर्मचारीले भोलि–भोलि भन्दै उनलाई एक वर्ष झुलाइदिएका थिए । एक वर्षसम्म प्रतिलिपि नपाएको कुरा समाचारमाध्यमहरूमा सार्वजनिक भएको र संसद्मा समेत कुरा उठेपछि कार्यालयका कर्मचारीले नयाँ अनुसूची भर्न लगाएर प्रतिलिपि दिएका थिए । मण्डलले पेश गरेको अनुसूची फाँटबाट हराइसकेको थियो । पुनः अनुसूची भरेर वडाको सिफारिश गरी बुझाएपछि केही बेरमा प्रतिलिपि पाएको मण्डलले बताइन् ।

एक वर्षपछि नागरिकता पाउँदा उनी र उनका पति रामदेव मण्डलले खुशी व्यक्त गरे । गत वर्ष असोजमा नागरिकता प्रमाणपत्रको प्रतिलिपिको लागि आशाले जिल्ला प्रशासनमा फाइल बुझाएकी थिइन् । तर वर्ष दिन दौडधूप गर्दा पनि बनेको थिएन । गत बुधवार कर्मचारीले पेश गरिएको फाइल हराएकोले फेरि वडा सिफारिश र अनुसूची भरेर पेश गर्न भनेका थिए ।

छोराको नागरिकता बनाउन आमाको पनि नागरिकता चाहिने भनेपछि उनको नागरिकता पुरानो र अस्पष्ट रहेको कारण प्रतिलिपि निकाल्न निवेदन दिएकी थिइन् ।

मण्डलले नागरिकता प्रतिलिपि नपाएकोबारे सञ्चारमाध्यममा आएपछि मङ्गलवार संसद्मा प्रश्न उठेको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्