मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन गर्ने ३१ उद्योगविरुद्ध मुद्दा दायर

प्रस, जनकपुरधाम, १९ भदौ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने ३१ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्डविपरीत उत्पादनमा संलग्न उद्योग एवं उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा दायर भएका मुद्दाहरूबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सञ्चारकर्मीलाई जानकारी दिएको हो । मधेस प्रदेशका आठ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालय अन्तर्गतका एकाइहरूले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्य पदार्थ फेला परेको सो कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलङ्गवा, वीरगंज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आआफ्ना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रदेशका आठ जिल्लामा तीन हजार ५८७ वटा खाद्य पदार्थका नमूना जाँच गर्दा ७४ वटा न्यून गुणस्तर भएको पाइएको र तीमध्ये ३१ वटा उद्योगविरुद्ध मुद्दा दायर भइसकेको कार्यालयले जनाएको छ । १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ ।

सो प्रदेश कार्यालयले खाद्य अनुज्ञापत्र वितरण, नवीकरण र कारबाहीबापत रु २६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश कार्यालय अन्तर्गत चारवटा डिभिजन कार्यालय रहेका छन् । उक्त डिभिजन कार्यालयहरूबाट बजारको अनुगमन तथा नमूना सङ्कलन गर्नुका साथै खाद्य पदार्थको जाँच गरिन्छ ।

कार्यालयले गुणस्तर चेक जाँच गर्दा विशेषगरी दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नून, दाल, दलहन, प्रोशोधित पिउने पानी, गुलियो पदार्थ, मासु, दानालगायतका खाद्य पदार्थको नमूना जाँच गरेको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्