चिनियाँ नौसैनिक जहाज आफ्नोे जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानले कडा चिन्ता र विरोध जनायो । यसको केही दिन पहिले पनि आफ्नो हवाई क्षेत्रमा चिनियाँ सैन्य विमान घूसपैठ गरेको जापानको आरोप थियो । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आर्थिक एवं सैन्य प्रभाव र हालै फिलिपिन्ससँगको क्षेत्रीय विवादमा चीनको आक्रामकताले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूलाई झकझकाएको छ । त्यसमा पनि जापान र चीनबीचको मनमुटाव र अविश्वासका कारणहरू धेरै छन्, र यसका पछाडि ऐतिहासिक, भौगोलिक र राजनीतिक कारणहरूले काम गरिरहेका छन् ।
द्वितीय विश्वयुद्धको समयमा चीनमा भएको जापानी आक्रमण र अत्याचारले आज पनि द्विपक्षीय सम्बन्धमा गहिरो छाप छोडेको छ । यो इतिहासका कारण चीनमा जापानप्रति गहिरो अविश्वास छ । उता जापानलाई पनि चीनले एक दिन इतिहासको बदला लेला कि भन्ने चिन्ताले सताइरहेको छ । जापानको सैन्य र सामरिक गतिविधि एवं चीनविरोधी राष्ट्रहरूसँगको गठजोडले चीन चनाखो रहिरहनुपर्ने बाध्यता छँदैछ । जापान र चीनबीचको दक्षिणी चीन सागर र पूर्वी चीन सागरमा सीमा विवाद तथा हकदाबीहरू छन् । उक्त क्षेत्र प्राकृतिक स्रोतहरूले भरपूर रहेको र सामरिक महŒवको भएको कारण पनि तनाव बढिरहेको छ । चीनको बढ्दो सैन्य शक्ति एकातर्फ छ भने जापानको अमेरिकासँग सुरक्षा गठबन्धनले यस क्षेत्रको क्षेत्रीय सुरक्षामा मतभेद सिर्जना गरेको छ । जापान–अमेरिका सैनिक सहयोगलाई चीन आफ्नो सुरक्षामा खतरा मान्छ । दुई मुलुकबीच वाणिज्य र आर्थिक प्रतिस्पर्धा पनि छ । चीन र जापान एशियामा प्रमुख आर्थिक शक्ति हुन्, आफ्नो आर्थिक साम्राज्य खडा गर्ने सवालमा उनीहरू एकले अर्कालाई बाधकको रूपमा हेर्ने हुँदा यहाँ आर्थिक प्रतिस्पर्धा र मतभेद छन् । त्यसैगरी, जापान र चीन दुवै मुलुकमा राष्ट्रवादी भावना अर्थात् राष्ट्रिय गौरव र आत्मनिर्भरतासम्बन्धी भावनाहरू बलियो छन् । यो विचारधाराले आआफ्नै गौरवगाथा ठूलो देख्ने हुँदा दुई मुलुकबीचको सम्बन्धमा बाधा पु¥याइरहेका छन् । द्विपक्षीय सम्बन्धमा चीनको अन्तर्राष्ट्रिय कूटनीतिक गतिविधिले पनि जापान चिढिएको छ । चीनले विशेषगरी अटलान्टिक र खाडी क्षेत्रहरूमा प्रभाव फैलाउने प्रयास गरिरहेको छ, जसले जापानलाई चिन्तित बनाउँछ । यी सबै मुद्दाहरूका कारण जापान र चीनबीचको द्विपक्षीय सम्बन्धलाई जटिल बनाउँदै लगिरहेको छ ।
जापान र चीनबीच विवादित क्षेत्रहरूका बारे जापानले अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाएका असहमतिहरूले चीनलाई जापानको कूटनीतिक गतिविधिहरूप्रति सङ्कोच बढाएको छ । जापान र चीनबीच जटिल सम्बन्धहरू र प्रतिस्पर्धात्मक परिस्थिति हुनुका कारण चीनले जापानका गतिविधिहरू र नीतिहरूप्रति चिन्ता र सङ्कोच राख्न सक्छ । यसले द्विपक्षीय सम्बन्धमा तनाव र चासोलाई जन्माउँछ । यसले दुवै मुलुकलाई सुरक्षा चिन्ता तथा सावधानी अपनाउन र कूटनीतिक संवेदनशीलतामा ध्यान दिन बाध्य पारेको छ । चीन र जापानबीचको द्वन्द्वले विश्व समुदायलाई घाटा नै हुनेछ । विशेषगरी आर्थिक र सुरक्षाका क्षेत्रमा । यद्यपि केही पक्षहरूलाई कूटनीतिक वा रणनीतिक फाइदा हुन सक्ला, तर द्वन्द्वका दीर्घकालीन नकारात्मक प्रभावले समग्रमा अस्थिरता र समस्याहरू ल्याउने सम्भावना उच्च रहन्छ ।