प्रदेश सरकार शिक्षा नीति बनाउन लागिपरेको –मुख्यमन्त्री सिंह

प्रस, जनकपुरधाम, १८ भदौ/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशको शिक्षा नीति बनाउन सरकार लागेको बताएका छन् । शिक्षा नीति बनेपछि शिक्षा क्षेत्रमा भएको विकृति तथा विसङ्गतिको अन्त्य गर्न सहज हुने मुख्मन्त्री सिंहको भनाइ छ ।

मङ्गलवार मधेस प्रदेशकै सबैभन्दा पुरानो याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा ‘याज्ञवल्क्य सदन’ छात्रावासको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । जनकपुरधामस्थित विद्यालयको छात्रावास प्रदेश सरकारको आर्थिक सहयोहमा निर्माण सम्पन्न भएको हो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले शिक्षा नीति निर्माण गरेर प्रदेशमा योग्य एवं सक्षम नागरिक उत्पादन गर्नेगरी सरकार अगाडि बढ्न चाहेको बताए । यसका लागि शिक्षामा गुणात्मक सुधारको खाँचो रहेको विचार व्यक्त गरे ।

प्रदेशको शिक्षाको स्तर माथि नउठेसम्म प्रदेशको विकास सम्भव नभएको बताउँदै मुख्यमन्त्री सिंहले माध्यमिक शिक्षा प्रदेश सरकारमा नभए पनि माध्यमिक तहको शिक्षामा सुधारका लागि सरकारले सबै प्रकारको सहयोग एवं लगानी गरेको र गरिरहने स्पष्ट पारे । प्रदेशका केही जिल्लाहरूमा नमूना शैक्षिक पार्क निर्माण गर्न प्रदेश सरकारको चालू आर्थिक वर्षमा कार्यक्रम नै ल्याएको जानकारी दिएका उनले प्रदेशकै ऐतिहासिक विद्यालयको रूपमा रहेको ज्ञानकूपमा नमूना शैक्षिक पार्क निर्माण गर्न चाहेको बताए ।

सदन उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयका ऐतिहासिक पक्षहरूबारे चर्चा गर्दै हाल विद्यालयमा अढाई हजारभन्दा बढी विद्यार्थीहरू रहेको जनाकारी दिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का अध्यक्ष दिनेशकुमार सिंहले नमूना विद्यालयको रूपमा रहेको ऐतिहासिक विद्यालयको विकासमा थप लगानी गर्नका लागि प्रदेश सरकारसँग माग गरे ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्