नितेश कर्ण, वीरगंज, १८ भदौ/
नेपाल बीमा प्राधिकरण मधेस प्रदेशले महागढीमाई नगरपालिकामा बीमा प्रवद्र्धनात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरण मधेस प्रदेशकी कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा भएको कार्यक्रममा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव, कर्मचारीहरू, जनप्रतिनिधि, अगुवा कृषक, पत्रकार, बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

छलफलमा सहभागीहरूले एकभन्दा बढी बीमा कम्पनीमा एउटै सम्पत्तिको बीमा गर्न मिल्छ कि मिल्दैन ?

मिल्छ भने दाबीका बेला सबै कम्पनीले दाबी दिन्छन् कि दिंदैनन् ? धान, मकै बालीको बीमा कसले गरिदिन्छ ? धान, मकैको बीमा कहाँ गर्ने ? कृषि बीमामा प्राविधिकको सिफारिशका लागि के के कागजात आवश्यक पर्छ ? कालिज तथा अस्ट्रिचको बीमा गर्न मिल्छ कि मिल्दैन ? कृषि बीमामा अधिक विषादी प्रयोग गर्दा दाबी लाग्छ कि लाग्दैन ? जस्ता प्रश्नहरू सोधेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयप्रसाद कुशवाहाले बीमा विषयलाई नगरपालिकाको आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख यादवले नगरपालिकामा पशुबीमाको आवश्यकता रहेको, साथै छोराछोरीको विवाह, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यका लागि बीमा गर्न सबैलाई अनुरोध गरे ।

कार्यक्रममा बीमा सम्बन्धमा कार्यपत्र कार्यालय प्रमुख प्रीति देवले प्रस्तुत गरेकी थिइन् भने २०८१ सालको महागढीमाई मेलामा हुन सक्ने दुर्घटना तथा क्षतिको जोखिम न्यूनीकरणका लागि बीमा गर्न आग्रह गरेकी थिइन् । उनले बीमासम्बन्धी छलफल गर्नुपर्ने भएमा वा कुनै कार्यक्रम गर्नुपरेमा नेपाल बीमा प्राधिकरण आवश्यक समन्वयका लागि सदैव तयार रहेको बताइन् । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक रोमिला शर्माले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here