बलिराम शुक्ला, बिरुवागुठी, १८ भदौ/
पर्सागढी नगरपालिका वडा नं ७ रघुनाथपुरको खेलमैदानमा हिजो भएको प्रथम मुखिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेलको अन्त्यमा दुई टोलबीच भएको झडपमा छजना घाइते भएका छन् भने एकजना पक्राउ परेका छन् ।
खेलको अन्त्यमा पुरस्कार वितरण गर्नुपूर्व डिजेको विषयलाई लिएर पर्सागढी नगरपालिका वडा नं ७ को रघुनाथपुर गाउँ र एकटाँगा गाउँका युवाहरूबीच झडप भएको थियो । झडपमा घाइते हुनेहरूमा पर्सागढी नगरपालिका वडा नं ७ रघुनाथपुर गाउँ निवासी समसुल अन्सारी, मोहमद मियाँ अन्सारी, एकटाँगाका भुलन यादव, अशोक यादवलगायत घाइते भएका थिए । घाइतेहरूको गण्डक हस्पिटल र तराई हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरूको टाउको र अनुहारमा चोट लागेको र अन्य दुईजनाको स्थानीय मेडिकलमा उपचार भएको थियो ।
प्रहरीले झडपस्थलबाट गएराति नै एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ७ रघुनाथपुर निवासी २१ वर्षीय भोज मियाँ अन्सारी रहेका छन् । झडपबारे थप अनुसन्धान भइरहेको र दुवै पक्षबाट जाहेरी परेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले बताएका छन् ।