गिद्ध मानवको लागि एक महŒवपूर्ण पक्षी हो । यसले पारिस्थितिकीय प्रणाली अर्थात् प्राकृतिक तन्त्रमा सन्तुलन कायम गर्न विशेष भूमिका निभाउने गर्छ । गिद्धको सङ्ख्या घट्दै जाँदा हैजाका रोगीहरूको सङ्ख्या बढ्न गएको हालै गिद्ध संरक्षण दिवसको अवसरमा वक्ताहरूले उजागर गरेका छन् । एउटा चराको सङ्ख्या घट्दा मानवलाई लाग्ने हैजा कसरी वृद्धि हुन्छ ? प्रश्न उठ्छ । गिद्धहरू प्रायः मरेका जनावरको मासु खान्छन् । उनीहरूको मुख्य आहार मरेका जनावरको वेवारिसे शव तथा अव्यवस्थित अवशेषहरू हुन् । जब जनावर वा मानिसहरूको शव कुहिन्छ, तिनीहरूको शरीरमा रहेका रोगजनक सूक्ष्म जीवाणुहरू अर्थात् हैजाका कीटाणुहरू पनि शवसँगै सडेर अन्य पदार्थमा मिसिन्छ । कुहिएका शवहरूमा उत्पन्न भएको कीटाणुले नजीकको जलस्रोत नदी, ताल वा कुण्डलाई प्रदूषित गर्छ । यदि हैजाको कीटाणु शवमा छ भने, यो दूषित पानीमा मिसिन्छ र त्यस पानीको प्रयोगबाट मानिसहरूलाई सङ्क्रमित गर्न सक्छ । कुहिएको शवको अवशेषमा पाइएका हैजाका कीटाणु रोग फैलाउँछन् । अन्यत्रबाट फैलिएका कीटाणुभन्दा यो जबरजस्त र शक्तिशाली पनि हुन्छ, लामो समयसम्म पनि जीवित रहन सक्छ । शव कुहिएसँगै हैजाका जीवाणु पनि वातावरणमा तीव्रगतिमा फैलन्छ ।

कुहिएको शवबाट उत्पन्न प्रदूषणले पानीको गुणस्तरलाई प्रतिकूल प्रभाव पार्छ । पानीमा रहेका जीवाणुहरूले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ । अतः शवहरू कुहिंदा वातावरणीय स्वच्छतामा सङ्कट उत्पन्न हुन्छ । कुहिएको शवको सम्पर्कमा आएको पानी प्रयोग गर्ने वा प्रभावित वातावरणमा बस्ने व्यक्तिहरू हैजाका शिकार बन्ने अधिक सम्भावना हुन्छ । सङ्क्रमित व्यक्ति एकबाट अर्कोमा रोग सङ्क्रमण हुन झन् सहज हुने हुँदा यसले महामारी निम्त्याउँछ । कुहिने, सड्ने तथा दुर्गन्ध फैलाउन सक्ने शवहरू गिद्धले खाएर प्राकृतिक प्रणालीलाई स्वच्छ राख्न महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । त्यसैले गिद्धलाई प्राकृतिक कूचीकार पनि भनिन्छ । गिद्धले हैजाका कीटाणुहरूलाई नष्ट गर्न मदत गर्छ । गिद्धले मरेका जनावरको शवलाई खानु भनेको हैजाको जीवाणुलाई खानु हो । गिद्धको पाचन प्रणाली यति मजबूत हुन्छ कि उसले हैजाका कीटाणुलाई पूर्णरूपमा पचाएर मात्रै बिस्ट्याउँछ । यस प्रकार गिद्धले हैजाका जीवाणुहरू नाश गर्न र तिनीहरूको प्रसारलाई सीमित गराउन मदत गर्छ । गिद्धको सङ्ख्या कम हुँदै जाँदा वातावरण प्रदूषणका साथै हैजा महामारीको खतरा बढेको छ ।

गिद्धको सङ्ख्या पछिल्लो दशकमा डरलाग्दोरूपले घटेको छ । हालको अनुमान अनुसार विश्वभर गिद्धको सङ्ख्या लाखौंबाट हजारौंमा झरेको छ । पछिल्लो तीन दशकमा गिद्धको घट्दो दर ९० प्रतिशत हाराहारीमा छ । हाल संसारभर लोपोन्मुख गिद्धको सङ्ख्या ४५ हजारदेखि ७५ हजारसम्म रहेको अनुमान छ । विषाक्त पदार्थहरूको प्रभाव र पर्यावरणीय समस्याहरूले यसको सङ्ख्या मासिंदो छ । गिद्ध संरक्षणका लागि विशेष प्रयासहरू अगाडि बढाउन विलम्ब भइसक्यो । विषाक्त पदार्थहरूको प्रयोग कम गर्न, प्राकृतिक आवासको संरक्षण गर्न र गिद्धहरूको लागि सुरक्षा क्षेत्र तयार गर्न अब स्वैच्छिक होइन, अनिवार्य गर्नुपर्छ । संसारका हरेक राष्ट्रले अनिवार्यरूपमा गर्नैपर्ने कानून बन्नुपर्छ र त्यसको कार्यान्वयन कडाइका साथ हुुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here