प्रस, वीरगंज, १७ भदौ/
उपभोक्ता हित संरक्षण मञ्च पर्साले हिजो आइतवार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाएको छ ।
चाडपर्व शुरू भएको तर संयुक्त बजार अनुगमन टोली गठन नभएको कारण बजारमा उपभोक्ताहरू विभिन्न खरिदारीमा ठगिने गरेको भन्दै तत्काल संयुक्त बजार अनुगमन टोली गठन गर्न ज्ञापनमार्फत माग गरिएको छ ।
मञ्चका पर्सा अध्यक्ष सुनील श्रेष्ठले प्रजिअ भुसाललाई बुझाएको ज्ञापनमा माछामासु र सिलबन्दी पानीको उचित मूल्य कायम, सूचीकृत नभएका र बिक्रीमा रोक लागेका औषधिहरू बिक्री हुन नदिनका लागि अनुगमन र चिकित्सकले तथ्याङ्क राखेर मात्र लागूऔषध बिक्री गर्न पाउने व्यवस्था, सरोकारवालाहरूसँग छलफल र बजार अनुगमन नियन्त्रणका लागि रणनीतिक योजना निर्माण, पार्टी प्यालेस र नगरमा ध्वनि प्रदूषण (डिजे आतङ्क) बन्द गर्नुपर्ने र उपभोक्ताको गुनासो सामाजिक सञ्जालबाट लिने व्यवस्थासहित त्यसको तत्काल निराकरण गर्ने संयन्त्रको तयारी गर्नुपर्ने ज्ञापनमा उल्लेख छ ।