नेपालका राजनीतिक दलहरू कोही शुद्ध र चोखो छैनन् । प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी दलहरू जसले शुरूमा जुन एजेन्डा उठाएर नागरिकलाई आफूतर्फ आकर्षित गरेका थिए, आज उनीहरूसँग त्यो एजेन्डा नै छैन । आज यी दलहरूको वास्तविकता बिल्कुलै भिन्न छ । विचार र सिद्धान्तमा समानता राख्ने भनिएका यी दलहरूले आफूलाई राजनीतिक चेष्टा र उद्देश्यमा बलियो साबित गर्न असफल भएका छन् । नेपाली काङ्ग्रेसको इतिहास हेर्दा समाजवादको अवधारणा प्रस्तुत गर्दै जनतासँग जोडिएका हुन् भन्ने स्पष्ट छ । एमालेले रोपेको साम्यवाद त्यति नफस्टाएपछि उसले न्यूनतम लक्ष्य बहुदलीय जनवादको मोडल अगाडि सारेर जनताको मन जितेको थियो । माओवादी दलले सर्वहारा वर्गको अधिनायकत्वसहित साम्यवादको लक्ष्य अगाडि सा¥यो र त्यसको निम्ति अनियमितता, भ्रष्टाचार रहित, जातीय तथा वर्गीय समानतासहितको समाज निर्माण गर्दै, सांस्कृतिक र आर्थिक क्रान्ति गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको थियो । त्यसैगरी, मधेसवादी दलहरूले आत्मनिर्णयको अधिकार र स्वायत्त प्रदेशको एजेन्डा प्रस्तुत गरेका थिए । तर आज यी दलहरूको कार्यशैली र योजनाहरू हिजो निर्धारित लक्ष्यसँग मेल खाँदैन ।
परिवर्तन पक्षधर राजनीतिक दलहरूमा आन्तरिक मतभेद, खिंचातानी, गुट, उपगुट, असहमति र विघटनले सर्वसाधारण नागरिकमा उल्लास र विश्वासको स्थायी आधार तयार गर्न सकेका छैनन् । पुराना राजावादी दल भनिएकाहरू भने आफ्नो धारणा र विचारमा विभाजित छन् । राजसंस्था, हिन्दू राज्य, सङ्घीयतालगायतका मुद्दामा उनीहरूका दृष्टिकोण फरकफरक छन् । पुराना शक्ति वा राजावादी भनिरहँदा दृष्टिकोणमा नै एकरूपता ल्याउन नसकेका उनीहरू खासै प्रभावकारी बन्न सकेन । नामको पुच्छरमा जुनसुकै वाद झुन्ड्याए पनि चरित्र भने प्रायः सबै राजनीतिक दलको एकै देखियो । त्यसैले सर्वसाधारणको नजरमा नेपाली राजनीतिक दलहरूको सवालमा एउटा साझा धारणा बनिसकेको पाइन्छ । ‘सत्तामा रहँदा र प्रतिपक्षमा रहँदा एउटै मुद्दामा पनि दलहरूको धारणा फरक हुने, गलती कहिल्यै नस्वीकार्ने दोष जति अरूको टाउकोमा थोपर्ने, नैतिकता र जिम्मेवारीविहीन, दूरदृष्टि साथै अडान नभएको, दलगत गुट–समूह–उपसमूह अनि नातावाद र आसेपासेले जेलिएको नेतृत्व’ राजनीतिक दल भन्ने बित्तिकै सर्वसाधारण नेपालीको मस्तिष्कमा यतिबेला यही विशेषताका चित्रहरू घुम्ने गरेका छन् ।
यो कुनै एक दलको मात्र विषय होइन, सम्पूर्ण राजनीतिक दलको वास्तविकता यही हो । यी दलहरूले जनतालाई देखाउन कुनै गतिलो काम नगर्दा साथै आफूसँग गतिलो मुद्दा नहुँदा जनताको विश्वासलाई झुक्याउन, भ्रमको खेती गर्न र मतदातालाई अल्मल्याउने रणनीति अपनाइरहेका छन् । राजनीतिक दलहरूको यस्ता गतिविधि र कार्यशैलीले जनतामा निराशा र अविश्वासको वातावरण सिर्जना गरेको छ । राजनीतिक दलहरूले आफूलाई सुधार्ने हो भने मौका छ । सबै दल प्रथमतः सिद्धान्त र लक्ष्यमा स्पष्ट हुनुपर्छ । नैतिकता र जवाफदेहिताप्रति प्रतिबद्ध हुनुपर्छ, जनताको वास्तविक समस्या र आवश्यकता अनुसार नीतिहरू बनाउनुपर्छ । आन्तरिक लोकतन्त्र र पारदर्शिता, जनसम्पर्क र संवाद, संविधान र कानूनको सम्मान, समानता र समावेशीको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्छ ।