रामेश्वर मेहता, सिम्रौनगढ, १६ भदौ/
सिम्रौनगढ नगरपालिकाको वर्तमान अवस्थाका बारेमा स्थानीय व्यापारी र नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।
सिम्रौनगढ नागरिक समाज र उद्योग वाणिज्य सङ्घ सिम्रौनगढले शनिवार आयोजना गरेको सर्वपक्षीय गोष्ठीमा सहभागीहरूले नगरपालिकाको वर्तमान अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै नगरप्रमुख किशोरीप्रसाद कलवार, उपप्रमुख नजमु शेयरलगायत वडाध्यक्ष, सदस्यहरूलाई एकापसमा मिलेर सिम्रौनगढको विकासमा लाग्न सुझाएका थिए ।
दिउँसोदेखि शुरू भएको सर्वपक्षीय गोष्ठी अबेर रातिसम्म सञ्चालन भएको र सहभागी नागरिक समाज, व्यापारी र आम सिम्रौनगढवासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले नपाको नेतृत्वका कारण समस्या सिर्जना भएको र यसलाई नगर नेतृत्वले समाधान गर्नुपर्ने अनि अन्य जनप्रतिनिधिहरूले सघाउनुपर्ने सुझाएका थिए । गोष्ठीमा प्रायः सबैजसो राजनीतिक दलका प्रतिनिधिहरूले नगरप्रमुख कलवारको अकर्मण्यताको कारण नगरपालिकाको अवस्था बिग्रिएको आरोप लगाए ।
उनीहरूले आव २०८०/८१ देखि अहिलेसम्म नगरसभा हुन नसकेको, करार र दैनिक ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएको, स्थायी कर्मचारीहरूमा पनि थुप्रैको तलब बाँकी रहेको र वितरणमा पनि भेदभाव भएको आरोप लगाएका थिए । उनीहरूले परिस्थितिमा सुधार नभएको खण्डमा नागरिक समाजले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।
नागरिक समाज, व्यापारी, राजनीतिक दल र आम सिम्रौनगढवासीले चर्को विरोध गरेपछि नगरप्रमुख कलवारले सबै बेथितिलाई सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे । उपप्रमुख शेयर बिरामी परेर अनुपस्थित थिइन् र उनको स्थानमा पति शेख मोतिमले अहिलेसम्मको अवस्थाका लागि नगरप्रमुख जिम्मेवार भएको आरोप लगाए । उनले नपाको सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको र द्वन्द्वको पक्षमा पनि नरहेको स्पष्ट पारेका थिए ।
सिम्रौनगढ नपामा विगत लामो समयदेखि नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूबीच मतभिन्नताले त्यहाँको कामकारबाही प्रभावित हुँदै आएको छ । अल्पमतमा रहेका नगरप्रमुखले अहिलेसम्म मिलाएर नहिंडेको परिणाम सिम्रौनगढवासीले भोग्नुपरेको छ । विकासका काम ठप्प छन्, ठेकेदारले भुक्तानी पाउन सकेका छैनन्, यस्तो अवस्थामा सुधार ल्याउनका लागि नागरिक समाज र उवासङ्घले सर्वपक्षीय गोष्ठीको आयोजना गरी सिम्रौनगढ नपाभित्रको द्वन्द्व समापनको प्रयास गरेका थिए ।
हिजोको गोष्ठीमा नगरप्रमुख कलवार, उपप्रमुखका पति मोतिम, वडाध्यक्षहरू दीनदयाल मुखिया, अजुलाह अन्सारी, अवधेश सहनी, नन्दकिशोर जयसवाल, रामएकबाल यादव, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साहले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए भने उनीहरूको प्रतिबद्धताको साक्षी नागरिक समाजका अरविन्द कुशवाहा, उवासङ्घका अध्यक्ष लालबाबू कुशवाहा, जनमत पार्टीका गगनदेव कुशवाहा, सन्तोष कुशवाहा, रिङ्कु देवी, एकीकृत समाजवादी पार्टीका बतहु यादव, एमालेका महेन्द्र जयसवाल, वामपन्थी नेता नागेन्द्र यादव, लोसपाका रामबाबू यादवलगायत शिक्षकशिक्षिका, स्थानीयवासी थिए ।
कार्यक्रम उवासङ्घका अध्यक्ष कुशवाहाको अध्यक्षतामा भएको थियो भने सुजित कुशवाहाले स्वागत र रामेश्वर मेहता तथा वीरबहादुर कुशवाहाले सहजीकरण गरेका थिए ।