प्रस, वीरगंज, १४ भदौ/

नेपाल शिक्षक महासङ्घ पर्साको आयोजनामा शुक्रवार भेला सम्पन्न भएको छ। कुर्मी सेवा सदन रामगढवामा आयोजित भेलामा पर्साका १४ वटा स्थानीय तहका शिक्षकहरूको सहभागिता थियो। वीरगंज महानगरमा दरबन्दी मिलानको नाममा भएको अनियमित सरुवाको विरोधमा नेपाल शिक्षक महासङ्घ पर्सा आन्दोलित हुने भएको छ। आगामी दिनमा चरणबद्ध आन्दोलन घोषणा गर्न जिल्लाभरिका शिक्षकहरूसँग छलफल गर्ने उद्देश्यका साथ आजको भेला आयोजना गरिएको र भेलाले आन्दोलनमा जाने म्यान्डेट दिएको हो।

वीरगंज महानगरमा शिक्षा ऐनविपरीत भइरहेको दरबन्दी मिलान र सरुवा जायज भएको भेलाले ठहर गरेको छ। बहालका केही जनप्रतिनिधिहरूका कारण ४६८ जना प्रअ, शिक्षक, बालविकासका शिक्षक, कर्मचारीहरूको सरुवा महानगरको शिक्षा महाशाखाले गरेको थियो। आजको भेलामा सहभागी शिक्षक अगुवाहरूले भदौ १६ गते दिउँसो १ बजे नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, श्रीपुरमा अन्तिम भेला आयोजना गरी आन्दोलनको स्वरूप तयार गर्ने निर्णय भएको नेपाल शिक्षक महासङ्घ वीरगंज नगर कमिटीका अध्यक्ष प्रदीप जैसवालले बताए।

नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवको अध्यक्षतामा सम्पन्न भेलामा सहअध्यक्ष भरत गिरी, वीरगंज महानगर अध्यक्ष प्रदीप जैसवाल, नेपाल शिक्षक सङ्गठन पर्साका अध्यक्ष शिवनारायण चौधरी, लोकतान्त्रिक शिक्षक युनियन पर्साका अध्यक्ष 

हासिम अन्सारीलगायत शिक्षकहरूले आन्दोलन र शिक्षकमाथि वीरगंज महानगरमा भइरहेको अन्याय र अत्याचारका बारेमा आआफ्नो धारणा राखेका थिए।

यता वीरगंज महानगरपालिकाले गरेको दरबन्दी मिलानअनुरूप शिक्षकहरू तोकिएका विद्यालयमा धमाधम जान लागेको महानगरले जनाएको छ। नगरप्रमुख राजेशमान सिंहको पहलमा भदौ १२ गते बुधवार महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गरेको र त्यसपछि शिक्षकहरू तोकिएको विद्यालयमा जान लागेका जनाइएको छ। अहिलेसम्म धेरैजसो शिक्षकले पत्र बुझेर हाजिर हुन गइसकेको र केही जाने प्रक्रियामा रहेका महानगरको भनाइ छ। नगरप्रमुख सिंहले आपसी कुरालाई मिडियाबाजी नगरी घरमैं सुल्झाउने र यसबीच पठनपाठनमा सघाउन आग्रह गरेका र सोहीअनुरूप शिक्षकहरू दरबन्दी अनुसारको स्थानमा जान लागेको नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी गराएका छन्।

महानगरले शिक्षक दरबन्दीका लागि शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णको संयोजकत्वमा विनोद मेहता, हरेन्द्र चौरसिया रहेको तीन सदस्यीय समिति बनाएको थियो। आफ्ना नजीकका मानिसहरू राखेर महानगरले आफूअनुकूलको निर्णय गराएको तर सो नियन्त्रण मन्त्रिपरिषद् र शिक्षा नियमावलीविपरीत भएको नेपाल शिक्षक महासङ्घ वीरगंज महानगरका अध्यक्ष जैसवाल बताउँछन्। उनले मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यार्थी सङ्ख्या कम भएको तर शिक्षक बढी भएको अवस्थामा बढी विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्ने भन्नेमा सोअनुरूप नगरिएको बताए। उनले सुरजीदेवीमा लेखा विषयको अध्ययन नै नहुनेमा त्यहाँ लेखा विषयको शिक्षक दरबन्दी मिलानको नाममा पठाएको बताए।

यसैगरी, सोही विद्यालयमा बालविकासतर्फ तीनजना रहेकामा एकजनालाई हटाएर पुनः सोही विद्यालयमा अर्कालाई काजमा खटाइएको बताए। बालविकासका शिक्षिकाहरूलाई पायक स्थानबाट हटाएर अपायक स्थानमा पठाएको र त्यसको उदाहरण सौराहाकी शिक्षिका अलौं र अलौंकी शिक्षिकालाई रामगढवा पठाइएको बताए। उनले महानगरले दरबन्दी अनुसार शिक्षक खटिरहेको पत्र बुझेको सन्दर्भमा ४६८ जना प्रअ, शिक्षक, बालविकास र कर्मचारीमध्ये सबै बेथितिको शिकार नभएका र सोमध्ये विवादमा नपरेकाहरूले मात्र पत्र बुझेर आफ्नो कार्यक्षेत्रमा खटिरहेको र त्यसलाई महानगरले इस्यू बनाएर शिक्षक आन्दोलन मत्थर पार्ने कुत्सित प्रयास गरेको आरोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here