प्रस, वीरगंज, १४ भदौ/

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको तेस्रो बारा जिल्ला भेला भदौ १३ गते बिहीवार जीतपुरसिमरा उपमहानगरपालिकाको बेहरी टोलमा सम्पन्न भएको छ। 

भेलामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बैधनाथ श्रमजीवीले कम्युनिस्ट पार्टीहरूमा अहिले नक्कली कम्युनिस्टहरूको बिगबिगी भएको हुनाले कम्युनिस्ट पार्टीप्रति जनतामा वितृष्णा र अनास्था बढ्दै गएको बताए। 

उनले सबै नास्तिक भौतिकवादी हुँदैनन् तर सबै भौतिकवादी नास्तिक हुने बताए। यसै कारण कम्युनिस्ट पार्टीको पटकपटक सरकार बने पनि भ्रष्टाचार, महँगी, बेरोजगारी जस्ता कुराहरूमा कुनै कमी नआएको बताए। 

उनले संसद्भित्र रहेका सबै कम्युनिस्ट पार्टी केवल नामधारी कम्युनिस्ट भएको आरोप लगाए। उनले संसद्भित्रका कम्युनिस्टहरू भ्रष्टाचारीबाट घेरिएका नक्कली कम्युनिस्ट हुन् र 

त्यसैले तस्कर, दलाल पूँजीपतिको एजेन्टका रूपमा काम गर्दै आएको आरोप लगाए।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मिथिला–भोजपुरा इन्चार्ज मदन प्रभातले कम्युनिस्टहरू महिलाहरूलाई सम्मान गर्ने खालका भ्रष्टाचारविरोधी तथा आत्मनिर्भर उत्पादनको पक्षपाती हुनुपर्ने बताए। 

उनले आगामी असोज ३–५ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा देशमा कसरी समाजवादलाई स्थापित गर्न सकिन्छ, आत्मनिर्भर समुदाय र आत्मनिर्भर पार्टी, नेता, कार्यकर्ता कसरी बनाउन सकिन्छ भन्नेबारे बृहत् खाकासहित छलफल गरिने बताए। 

कार्यक्रममा उत्पीडित राष्ट्रका पर्सा इन्चार्ज विश्व धामीले जबसम्म समाजमा छुवाछूत जस्ता अन्धविश्वास र भाषा संस्कृतिको आधारमा राज्यले विभेद गरिरहन्छ, तबसम्म कुनै पनि वर्ग, क्षेत्र, लिङ्ग, समुदायको मुक्ति नहुने दाबी गरे। 

भेलाले सन्दीप चौधरी सचिव रहेको १५ सदस्यीय बारा जिल्ला सम्मेलन आयोजक कमिटी चयन गरेको छ। कार्यक्रमको सहजीकरण आकाश बस्नेतले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here