तीनवटा विद्यालयले खाजा नखुवाएको आरोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ भदौ/

स्वतन्त्र मानव अधिकार समाजले शुक्रवार वीरगंज महानगरस्थित सातवटा सामुदायिक विद्यालयको अनुगमन गरेको समाजका अध्यक्ष कृष्णकुमार खनालले बताए।

उनले नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको हक सुनिश्चित गरिएको तथा परिवार वा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसुसार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण विकासको हक हुने भनी व्यवस्था गरिदिएको विपरीत महानगरका केही विद्यालयहरूले बालबालिकाहरूलाई सो मौलिक हकबाट वञ्चित गरिएको उजूरीका आधारमा समाजले आज स्थलगत अनुगमन गरेको बताए। उनले दिवाखाजाबाट समेत बालबालिकालाई वास्ता नगरेको पाइएको बताए। उनले रामचरण पन्नालाल माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवा, नेपाल रेलवे माध्यमिक विद्यालयले बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूले दिवाखाजा पाउने मौलिक हकबाट वञ्चित गरिएको बताए। यस सम्बन्धमा सम्बन्धित कार्यालयले तत्काल कारबाही गर्नुपर्ने उनले माग गरेका छन्।

विद्यार्थीहरूका लागि दिवाखाजाबापत दैनिक १५ रुपैयाँ विद्यालयले पाउने गरेको तर सो अनुसार दिवाखाजाको व्यवस्था नहुनु गम्भीर त्रुटि भएको उनले बताए। आजको अनुगमनमा त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम मावि, त्रिभुवन हनुमान मावि, जेपी चर्तुवेदी विद्यालयमा भने दिवाखाजा वितरण भएको पाइएको समाजका सचिव दीपक साह कानूले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस