कस्तो माछा खाने ?

  • सञ्जय मित्र

यो माछाको विज्ञापन होइन, जिज्ञासा हो। माछा खानैपर्छ भन्ने होइन र माछा खानैहुँदैन भन्ने पनि होइन। माछा नखानेलाई माछा खानुपर्छ भन्ने सल्लाह दिएको होइन र माछा खानेलाई माछा खानुहुँदैन भन्ने सल्लाह पनि दिन खोजेको होइन। म स्पष्ट पार्न चाहन्छु कि मैले माछा खान छाडेको धेरै वर्ष भइसक्यो त्यसैले माछा खानेलाई  छोड्नुपर्छ भन्ने सल्लाह दिन चाहेको होइन। फेरि पनि, म शाकाहारी होइन। म माछा वा मासुको पछाडि पर्ने पनि होइन। 

कतिपय कुरा गूगलमा खोजेर पाइने होइन। र कतिपय कुरा आफूले खोजेर मात्र हुँदैन। समाजले पनि जवाफ दिनुपर्छ भन्ने मलाई लागेको छ। माछाको सवालमा मलाई धेरै असमञ्जय छ। मलाई रहेको असमञ्जय मजस्ता धेरैलाई हुन सक्छ वा मलाई भएको असमञ्जय केवल मलाई मात्र हुन सक्छ। असमञ्जय नहुनेहरूले मलाई स्पष्ट पारिदिनुहुनेछ। असमञ्जय नहुने जति सबैलाई यो फुर्सद पनि हुँदैन कि मलाई बताउनुहोस् तर कोही वा कसैलाई त लाग्ला कि अलिकति समय निकालेर असमञ्जय हटाइदिउँ। यो महत्वपूर्ण हुनेछ र यस विषयमा म स्पष्ट हुनेछु। स्पष्ट हुनुको यो तात्पर्य होइन कि म माछा खान शुरू गर्नेछु। मेरो जिज्ञासाको समाधान हुनेछ भन्ने मलाई लाग्छ। अब म आफ्नो जिज्ञासातर्फ लाग्दछु–कस्तो माछा खानु राम्रो होला ?

माछा धेरै प्रकारका हुन्छन्। सामान्यतया पहिले दुई प्रकारमा विभाजन गरौं– शाकाहारी र मांसाहारी। शाकाहारी माछा त्यो हो जसले कुनै जीवजन्तु, वा कीटपतङ्ग खाँदैन। पानीमा जमेको लेउ वा घाँस खान्छ। वा यस्तै अन्य वनस्पति खाएर बढ्छ, हुर्कन्छ। यसविपरीत कतिपय माछा मांसाहारी हुन्छन्। मांसाहारी माछाले विभिन्न जीवजन्तु, अन्य माछा तथा जे पायो त्यही खान्छ। सबै मांसाहारी माछा एकै किसिमका हुँदैनन्। मांसाहारी माछामा पनि अनेक किसिम हुन्छन्। कतिपय मांसाहारी माछा अरू माछालाई खाँदैन भने कतिपय त अरू माछाको कुरै छाडौं, आफ्नै बच्चा वा भुरा तथा आफ्नै वर्गको माछालाई पनि खान्छन्। हामीले दुवै किसिमका माछा खाइरहेका छौं। शाकाहारी र मांसाहारी माछामध्ये कुन चाहिं राम्रो होला ?

जलाशयमा यत्तिकै पाइने र जलाशयमा पालिएका गरी दुई किसिमका माछा बजारमा सजिलै पाइन्छ। सामान्यतया खोलाको माछा महँगो र पोखरीमा पालेको माछा सस्तो हुन्छ। पोखरीमा पालेको माछालाई किसानले औषधि र रासायनिक मलखाद तथा अन्य अखाद्य पदार्थ पनि ख्वाएका हुन्छन्। अब त कतिपय अवस्थामा विभिन्न भिडियोमा माछालाई सुई दिएको अर्थात् खोप लगाएको पनि देखिन्छ। भिडियोमा विश्वास गर्नु–नगर्नु एउटा पक्ष हो। यहाँ सत्यता जाँच्न खोजेको होइन तर माछालाई कृत्रिमरूपमा छिटो बढ्न वा बढी तौलको बनाउन यस प्रकारको उपाय गरिएको हुन सक्छ। पोखरीमा विभिन्न रसायन हाल्ने गरेको चाहिं सत्य हो। यसविपरीत स्थानीय नदीहरूमा पाइने माछा पनि हुन्छन्। हुनत नदी नै प्रदूषित भएको वा हुनलागेको अवस्थामा त्यसमा पाइने माछा अप्रदूषित होला भन्न सजिलो हुँदैन। यद्यपि अहिलेसम्म मानिसले पोखरीभन्दा नदीको माछा तुलनात्मकरूपमा शुद्ध वा राम्रो मान्दै आएका छन्। अझ कतिपय साना खोल्सीहरूमा पनि अप्रदूषित पानी नहुने होइन। यदि पानीमा कुनै उद्योगको रसायन मिसिएको छैन भने धेरै हदसम्म प्राकृतिक भन्न सकिन्छ। यस अवस्थामा यस्ता प्राकृतिक नदी वा पोखरीको माछामध्ये कुन चाहिं राम्रो होला स्वास्थ्यका दृष्टिले ?

माछा कत्ला भएको र नभएको गरी दुई किसिमको हुन्छ। कत्ला नभएको माछाको जीउ नरम हुन्छ, चिल्लो हुन्छ। कत्ला भएको माछाको जीउ खस्रो हुन्छ। बजारमा देख्छौं, कत्ला हुने ठूलो जातको माछाको किनबेच हुँदा प्रायः कत्ला  हटाएर ग्राहकलाई दिने गरिन्छ। विभिन्न जातका माछामा सानो माछोदेखि ठूलोसम्म सबै आकारमा कत्ला हुने र नहुने दुवै पर्दछन्। कत्ला नहुनेमध्ये केही माछा माटोमा बस्न मन पराउने हुन्छन्। कत्ला नहुने र पानीभित्रकै माटोमा बस्न मन पराउने कतिपय माछा अन्य माछाको तुलनामा बजारमा महँगो बिक्री भएको देखिन्छ। माछा पारखीले मन पराएको देखिन्छ। अब, जान्न चाहेको कुरा वास्तवमा खान हुने कुन हो र किन ?

कतिले भन्छन् अन्डा भएको माछा राम्रो हुन्छ र कतिपय अन्डा भएको माछा फिटिक्कै मन पराउँदैनन्। हाम्रो समाजको कुरा मात्र होइन। अन्यत्र, अर्थात् विदेशमा पनि यस किसिमको चलन पाइन्छ। कतिपय भूगोल यस्तो भेटिन्छ अध्ययनको क्रममा, जहाँ अन्डा भएको माछा बढी दाम तिरेर किनिन्छ र अन्डा नभएको माछै किन्दैनन्। व्यावहारिक दृष्टिकोणले हेर्दा अन्डा भएको माछा यदि सबैले खान थाल्न हो भने माछाको वृद्धि नै रोकिन्छ।  माछाको विकासको लागि त माछाले भुरा छाड्न पाउनुपर्छ। यदि अन्डा भएकै माछा मात्र खाने हो भने माछाको भविष्य खतरामा पर्न सक्छ। तर स्वास्थ्यको दृष्टिले कुन उपयुक्त हुन्छ ? के बिरामी वा अन्य कुनै कारणले अन्डा भएको माछा खाँदा विशेष फाइदा हुन्छ ? वा अन्डा भएको माछामा विशेष गुण पो हुन्छ कि ?

सामुद्रिक र स्थानीय उत्पादनको माछामा पनि भिन्नता छ। स्थानीय रोजगार तथा मत्स्यपालनको दृष्टिले आफ्नै गाउँठाउँ वा वरपरको माछा खानु राम्रो हो। राष्ट्रियताको दृष्टिले पनि आफ्नै देशको माछा खानु राम्रो हो तर स्वाद वा स्वास्थ्यको दृष्टिले स्थानीय माछा र सामुद्रिक माछामा कुनै भिन्नता हुन्छ कि ? आजभोलि सामुद्रिक माछा खानुपर्छ भन्नेहरूको सङ्ख्या बढ्दै गएको छ। सामुद्रिक माछा मगाएर खानेहरू पनि छन्। समुद्रको माछा र हाम्रो परिवेशको नदीनाला तथा पोखरीको माछामा भिन्नता हुन्छ ? मानिसको लागि स्वास्थ्य नै सबैभन्दा ठूलो हो। यस कुरालाई मनन गर्दै जान्ने मानिस वा बुझेको मानिसले स्पष्ट पार्नु आवश्यक छ कि कुन माछा किन बढी उपयुक्त हुन्छ। पोखरीको माछालाई नदीको माछा भनेर बेच्ने गरेको देखिन्छ, त्यस्तै कतै यतैको माछालाई सामुद्रिक माछा भनेर बेचिरहेको  हुन सक्छ। यस अवस्थामा कुन कहाँको माछा हो भन्ने कुरा थाहा पाउने कुनै उपाय छ कि ?

माछाको परिकारको पनि सन्दर्भ आउँछ। तारेर, उसिनेर, पोलेर सबै किसिमले माछा खाने चलन छ। माछामा झोल हालेर, सुख्खा बनाएर पनि खाने गरिन्छ। सबैले बुझेको सामान्य कुरो के हो भने माछा धेरै डढेको हुनुहुँदैन। राम्ररी पाकेको हुनुपर्छ अनि धेरै मसला हुनुभएन। तर यीबाहेक अन्य थप सावधानी पनि छ कि ? जस्तो माछा खाएको दिन दूध खानुहुँदैन भन्ने परम्परागत मान्यता रहेको छ। यसरी वर्जित हुनुपर्ने अन्य कुराहरू पनि छन् कि ? कतिपयले दही खानुपर्छ वा खान सकिन्छ भन्ने गरेका छन्। खाएको देखिन्छ पनि। वास्तविकता के हो ?

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्