किताब पढ्ने भूत

  • जगदीशप्रसाद शर्मा

कुरो झन्डै २०२० सालतिरको हुँदो हो। म घर गएको थिएँ। घर भनेपछि म जन्मेको थलो, हालको धनुषा र त्यस ताकाको महोत्तरी जिल्ला अन्तर्गतको गोदार गाउँ। यसरी घर जाँदा विद्यालयलाई तिर्नुपर्ने थाति शुल्क र केही पकेट खर्च पाउँथें। बाटो लामो हुन्थ्यो। गोदारबाट बिहान सखारै हिंडेर जनकपुर आइपुग्नुपर्ने र त्यहाँबाट एनजेजेआरको छुकछुक नेपाली रेल चढी जयनगर आई भारतीय रेलबाट रक्सौल आउनुपथ्र्यो। जयनगरसम्म पुग्न पैदल र रेलको बाटो धाउँदा बेलुका हुन्थ्यो। बेलुका ५–६ बजेतिर रेल चढेपछि भोलिपल्ट बिहान रक्सौल स्टेशन पुगेर मावलीघर अलौ पुगिन्थ्यो।

यो परिभ्राट किन गर्नुपथ्र्यो भने गोदार निकै पिछडिएको, एउटा प्राथमिक विद्यालयसमेत नभएको गाउँ थियो। नजीकको स्कूल पनि झन्डै तीन कोस पर बडकुर्वामा थियो। त्यहाँ बसेर पढ्ने जोहो थिएन। त्यसैले अध्ययनका लागि मावलीको सहारा लिनुपरेको थियो।

यो त्यो समयको कुरा हो, जब म भर्खर आठ क्लास पास गरेर नौमा पुगेको थिएँ। मैले मिडिल स्कूलसम्म पढेको स्कूल गाउँकै द्वारदेवी मिडिल स्कूल थियो। वीरगंजबाहेक जिल्लाभरिमा प्रसिद्ध थियो। दुईजना भारतीय शिक्षक थिए–प्रधानाध्यापक श्रीकृष्ण मिश्र र सहायक प्रधानाध्यापक विन्देश्वरी तिवारी। दुवै असल, कहलिएका शिक्षक थिए। आआफ्नो विषय पढाउनमा पोख्त। प्रधानाध्यापक मिश्रको ममाथि विशेष कृपा रहन्थ्यो। र मलाई गुरुकुल पद्धतिबाट शिक्षा दिन्थे। बिहान उनीकहाँ पढ्नुपर्ने र दिउँसो स्कूल भ्याएपछि बेलुकी फेरि पढ्नुपर्ने। बिहान र बेलुकीको पढाइ ट्युशन थियो। गुरुकुल यस कारण भनेको कि उनी सधैं मसँग तेल मालिश गराउँथे, कलधारामा मैले नै पानी चलाइदिएपछि नुहाउँथे। यस श्रमको साटो अध्ययनका लागि उनको अपार स्नेह भने पाउने गरेको थिएँ। म शायद चौथो कक्षामा पढ्दै थिएँ, उनले ‘कथा लेख’ भनेर कहीं नभएको उर्दी जारी गरे। के थाहा कथा के हो, तर कथा भने लेखें र श्याबासी पनि पाएँ।

म गोदारमा जन्मेको घर वरिपरि हाम्रो कान्छा हजुरबाका सन्तानहरूका घर थिए। हाम्रो घर उनीहरूकै जग्गामा थियो वा एकै ठाउँमा गुजमुजिएर बस्न मन नलागेर हो, पिताजी २०० मिटर पर दक्षिणतिर सर्नुभयो। त्यहाँ माइलाबा पहिलेदेखि नै बस्नुभएको थियो। नयाँ घर बनाइसकेपछि पुरानो घर छाड्दा म निकै नियास्रिएको थिएँ। त्यसको छाप आज पनि निकै मलीन तस्वीरका रूपमा मनमा बसेको छ। कथा लेख्ने बेला त त्यो सम्झना टडकारै थियो। त्यही विषयमा मैले कथा लेखेको थिएँ। त्यसपछि त हेडसरको ममाथि झन् कृपा बर्सन थाल्यो। स्कूलका कोर्सका विषय कम र बाह्य विषयमा बढी ध्यान दिन थाले। योगासन सिकाउने, संस्कृतका श्लोकहरू लेखेर घोक्न दिने, यहाँसम्म कि एकपटक म पाँच कक्षामा पढ्दा शरतचन्द बोसको झन्डै चार सय पृष्ठको ‘चरित्रहीन’ उपन्यास नै पढ्न दिए। एक दिन त्यो किताब पढेको देखेर मामाले कसले दियो भनी सोध्नुभयो र मैलो हेड सरले दिएको भनेपछि हेड सरसँग बाझ्नै पुग्नुभयो। दुवै आदरणीयहरूबीच के कुरा भयो, त्यो त थाहा पाइनँ, तर त्यसपछि मैले के पढिरहेको छु भन्ने खोजखबर कसैले लिएन।

यस घटनाले मेरो पुस्तकहरूप्रति रुचि जगाइदिएको थियो। त्यसै बेलाको कुरा हो, वीरगंजमा शिक्षा इन्सपेक्टर भएर मेरा अर्का मामा (आमाको मावलीतिरका) आउनुभयो। यसले गर्दा स्कूलमा खासगरी प्रधानाध्यापकको नजरमा मेराप्रति स्नेह मात्र बढेन, केही आदरभाव पनि देखिन थाल्यो। उनै मामा वीरगंजबाट सरुवा भएर जाँदा, मेरा लागि एउटा काठको कुर्सी र काठकै टेबुल छाडेर जानुभयो। टेबुल काठको भए तापनि त्यसमा घर्रा, दराज पनि थिए। वीरगंजबाट सामान ल्याएर हेर्दा मेरा लागि त्यो ‘कारूँ का खजाना’ बराबर थियो। त्यसमा भारतबाट प्रकाशित हुने क्तबतभकmबल का केही प्रति, धर्मयुग, हिन्दुस्तान, नवनीत पत्रिकाका केही प्रति, गालिबको दिवाने–गालिबलगायत पुस्तकहरू थिए। सबै पढ्दा पढ्ने लत कस्तो लाग्यो भने एकताका रक्सीको लत लागेजस्तै। त्यसविना काम चल्नै नसक्नेगरी। तर त्यस बेला पुस्तकहरू पढ्न वीरगंज नै धाउनुपर्ने। नेपाल–भारत सांस्कृतिक केन्द्र थियो, महावीर मन्दिरको उत्तरपट्टि। ४ बजे स्कूलबाट छुट्टी भएपछि सरासर माथि उक्ल्यो, टेबलमा के के पत्रपत्रिकाहरू राखेको छ पालो कुरेर पढ्यो अनि गाउँतिर लाग्यो। त्यहाँ पुस्तकहरू निकै थिए। तर सदस्य बनेपछि मात्र घर लग्न पाइने। सदस्य बन्न पैसा खर्च गर्नुपर्ने वा त्यसका कोही सदस्यले सिफारिश गरेपछि पाइने।

यस बेला वीरगंजको त्रिजुद्ध हाइस्कूलमा पढ्थें र मेरा साथी थिए, बाबूजान अलि। उनका जेठा दाइ थिए रेशमकोठी निवासी मोहर्रम अलि। बाबूजानले मेरो सिफारिश आफ्ना दाइसँग गरे र उनले मैले घर लगेर पुस्तकहरू पढ्न सक्ने व्यवस्था मिलाइदिए। त्यसै केन्द्रमा अरू धेरै भारतीय पत्रपत्रिकाहरू पढ्न पाइयो। कल्याण पत्रिका पहिलोपटक त्यहीं पढेको थिएँ। तर त्यो मलाई त्यति मन पर्दैनथ्यो। एकपटक मानिसले पुस्तकालय टन्न भरिएको बेला एउटा मात्र खाली कुर्सीको अगाडि धूलोले बेरिएको कल्याण देखेर केही समय त्यै पढूँ भन्ने लाग्यो र झारझुर पारी पढ्दा निकै घतलाग्दा केही लेख पाएँ। त्यसै अङ्कमा कल्याणले आफ्नो वार्षिक अङ्क ग्राफोलोजी विषयमा प्रकाशित गर्ने पढेपछि त्यो पुस्तक पाउने छटपटीले मलाई मन परेको (कसैले भनिदिएर रुचि जगाइदिएका) पुस्तकहरू प्राप्त गर्न, पढ्न पागलपनको हदसम्म आतुरता जन्माइदिएको थियो।

मामाको टेबुलको घर्रामा पाइएको दिवाने–गालिबले पनि लामो समयसम्म मलाई अधीर बनायो। धेरै–धेरै पछि त्यो पुस्तक पढ्न उर्दू सिक्न करै लाग्यो। केही साथी, केही परिस्थिति जुर्दै गए र उर्दू पनि कनकुथ पढ्न सक्ने अवस्थामा पुगें। यद्यपि दिवाने–गालिब आज पनि मेरा लागि दुरुह छ, त्यस बेला त्यसले मलाई कति अधीर बनाएको होला कल्पना मात्र गर्न सकिन्छ।

मेरा एकजना भिनाजु हुनुहुन्थ्यो, श्यामबाबू। उहाँ एजिआर (नेपाल गभर्नमेन्ट रेल्वे, रक्सौल–अमलेखगंज) मा मालबाबू। त्यहाँ पनि राम्राराम्रा पुस्तकहरूको सङ्ग्रह हुन्थ्यो। त्यसैमध्ये महाभारतको लम्बे–चौडे र मोटो संस्करण थियो। त्यो पढ्ने लोभले मलाई कहिले रक्सौल त कहिले अमलेखगंज दौडाइरहन्थ्यो। कारण के भने उहाँको ड्युटी ६ महीना रक्सौल र ६ महीना अमलेखगंज हुन्थ्यो। उनै भिनाजुले मलाई तैंले तीनवटा किताब पढ्को छैनस् भने केही पनि पढेको छैनस् भन्नुभयो। ती तीन किताब थिए–रबिन्सन क्रूसो, गुलिभर ट्राभेल्स र अरेबियन नाइट्स। तर पुस्तक कसरी र कहाँ पाउने ? त्यस बेला वीरगंजको एक मात्र सिनेमा हल ‘कीर्ति सिनेमा’मा एउटा पान पसल थियो। उसले जासूसी उपन्यास र त्यस बेलाका रोमान्सले भरिपूर्ण उपन्यासहरू बेच्ने गर्दथे। उनीसँग यी किताबबारे सोधपुछ गरें। परिणाम जीरा धनिया बेच्ने पसलेसँग हीरा बेच्छस् भनी सोध्दा प्राप्त हुने मूर्खतापूर्ण परिणाम। क्रमशः

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्