सशस्त्र प्रहरी बल १३ नं हेडक्वार्टर वीरगंजको आयोजनामा बिहीवार घडीअर्वा पोखरीमा बाढीबाट जोगिनका लागि अवलम्बन गर्नुपर्ने उपायबारे अभ्यास तालीम गरेर जानकारी गराइएको छ।
विपत्का बखत सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मीले संयुक्तरूपमा गरिने उद्धार कार्यमध्ये बाढीको समयमा अवलम्बन गरिने उपायबारे सशस्त्र प्रहरीले घडीअर्वा पोखरीमा अभ्यास तालीम प्रदर्शन गरेर देखाएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले तीनै तहका सुरक्षाकर्मीहरू विपत् व्यवस्थापन समितिमा रहेका र उनीहरूले आलोपालो विपत्का विभिन्न विषयहरूमा प्रदर्शन गर्दै आएको बताए। उनले जिल्ला विपत् व्यवस्थापन समिति सबैखाले विपत्बाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको र यसबारेमा सही सूचना दिएर सहयोग पु–याउन आग्रह गरे।
कार्यक्रममा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलीप कुमार, रेडक्रसका साबिर अहमद ऐराज, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्कीलगायतको सहभागिता थियो।