नेपाल शिक्षक महासङ्घ वीरगज नगर कमिटिले उठाएका जायज मागहरू सम्बोधन गर्न पर्सा जिल्लाका पाँच राजनीतिक दलहरूले वीरगंज महानगरपालिकासंग आग्रह गरेको छ।
नेपाली काङ्ग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी , एमालेका अध्यक्ष डा. विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक हरि पन्त, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव र जनमत पार्टी पर्साका सहइन्चार्ज मुकेश द्धिवेदीले बिहिवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाल शिक्षक महासङ्घ वीरगंज महानगर समितिले शिक्षक दरबन्दीलगायतका विषयमा उठाएका जायज मागहरू प्रति आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन।
बिहिवार नेपाल शिक्षक महासङ्घका पदाधिकारी सदस्यहरूसंग नेका पर्साको पार्टी कार्यालयमा बैठक बसेर पाँच दलका नेताहरूले जायज माग सम्बोधन गरिनुपर्ने ठहर गर्दै विज्ञप्ती जारी गरेको रास्वपाका संयोजक हरि पन्तले बताए। उनले शिक्षक महासङ्घले महानगरपालिका शिक्षा महाशाखा शिक्षक दरबन्दि मिलानको नाममा व्यापक अनियमितता गरेको, आफन्त र पैसावाललाई प्राथमिकता दिएकोले महानगरको शैक्षिक वातावरण धुमिल भएको बैठकमा कुरा राखेको थियो।
शिक्षक महासङ्घको कुरा सुनेर पाँच दलका नेताहरूले महानगरलाई उनिहरूको जायज माग पुरा गर्ने दवाबस्वरूप विज्ञप्ती जारी गरेको संयोजक पन्तले बताए।