प्रस, वीरगंज, १२ भदौ/
नारायणी अस्पताल वीरगंजको मेडिकल सुपरिटेन्डेन्ट भएपछि डा ऐनामुल हकले करार र दैनिक ज्यालादारीमा खट्दै आएका ४७ जना कर्मचारीलाई हटाएकामा अहिले पुनः करारमा ३६ जना भर्ना गर्दैछन् ।
गत जेठ १३ गते नारायणी अस्पतालका मेसु डा हकले सूचना प्रकाशित गरी ४७ जनालाई जेठ १४ गतेदेखि लागू हुनेगरी हटाएका थिए । तर अहिले तीन महीनापछि एकैपटक ३६ जना भर्ना गर्दैछन् । पाँचजना मेडिकल अफिसर, २५ जना स्टाफ नर्स, चारजना फार्मेसी सहायक र दुईजना अनमी माग गर्दै उनले सूचना निकालेका छन् ।
नयाँ मेसु आएपछि पुराना करार, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हटाउने र फेरि सोही पदमा आफूअनुकूलका कर्मचारी नियुक्त गर्ने नारायणी अस्पतालको पुरानो रवैया हो । यसरी निष्कासन गरेर कर्मचारी भर्ना गर्दा आफू आसेपासेका साथै प्रतिव्यक्ति तीन/चार लाखसम्म नगदको कारोबार हुने एकजना कर्मचारीले बताए ।
यस अघि डा चित्तरञ्जन साह मेसु रहँदा अस्पताल विकास समितिले गत २०८० फागुन १० गते निर्णय गरेर ११७ जना दैनिक ज्यालादारी, १७ जना करार र ३१ जना विभिन्न मितिदेखि खट्दै आएका कर्मचारीहरूको व्यवस्थापन गरेको थियो । सोही समयमा भर्ना गरिएका कर्मचारीहरूमध्ये मेसुमा डा हक आएपछि ११ जना चिकित्सक, १२ जना स्टाफ नर्स, एक/एक जना दृष्टि विशेषज्ञ, बायोमेडिकल टेक्निसियन र फार्मेसी सहायक, तीनजना हेल्थ असिस्टेन्ट, पाँचजना रेडियोग्राफर, तीनजना अहेब, सातजना कार्यालय सहयोगी र दुईजना स्वीपर गरी ४७ जनालाई हटाएका थिए ।
त्यतिखेर समितिले बहाल गरेका कर्मचारीलाई हटाएकोमा अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले विरोध जनाएका थिए । तर त्यसपछि भने विरोध मत्थर हुँदै गयो र अहिले तीन महीनापछि अस्पतालले निष्कासन गरेका ४७ जनामध्ये ३६ जनालाई करारमा बहाल गर्न गइरहेको छ ।
समितिले गरेको निर्णयविरुद्ध मेसु डा हक, लेखापाल र प्रशासन प्रमुख रहेको कर्मचारी प्रशासनको बैठकले तलबसुविधा दिन समस्या भएकोले ४७ जनालाई हटाउने निर्णय गरेको थियो । तर तीन महीना अवधिमा अस्पतालको आर्थिक अवस्थामा सुधार आएर फेरि कर्मचारी भर्ना गर्न लाग्नु आर्थिक चलखेल र आसेपासेलाई जागीर दिने प्रपञ्च मात्र भएको कर्मचारीहरू बताउँछन् ।