प्रस, वीरगंज, १२ भदौ/
वीरगंजमा रहेको मधेस विश्वविद्यालयको लागि आगामी मन्त्रिपरिषद्को बैठकबाट जग्गाको हकमा निर्णय गर्ने मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आश्वासन दिएका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री सिंहलाई विश्वविद्यालयका लागि आवश्यक पर्सा जिल्ला बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा जग्गा रहेको र सो जग्गाबारेमा जिल्लाबाट भएको सिफारिश उपलब्ध गराइएपछि मुख्यमन्त्री सिंहले आगामी मन्त्रिपरिषद्को बैठकबाट यस विषयमा निर्णय गराउने आश्वासन दिएका हुन् । विश्वविद्यालय निर्माणका लागि सम्बन्धित पालिकाका प्रमुख सिंहासन साहले मन्जुरी दिएको आधारमा प्रजिअ दिनेशसागर भुसाल अध्यक्ष रहेको र भूमिसुधार तथा मालपोत र नापी कार्यालयका प्रमुख सदस्य रहेको सिफारिश समितिले बहुदरमाई नपा–२ मा रहेको ३५ बिघा सार्वजनिक जग्गा विश्वविद्यालय निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो । जिल्लाबाट सिफारिश भएको पत्र कुलपति एवं मुख्यमन्त्री सिंहलाई बुझाइएको थियो । जग्गा अभावमा मधेस विश्वविद्यालय केही वर्षदेखि वीरगंज–१२ नेशनल टे«डिङमा सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा मुख्यमन्त्री सिंहसहित अर्थमन्त्री सुनील यादव र शिक्षामन्त्री रीना तिवारीसँग प्राडा दीपक शाक्य र नेता नेजामुद्दीन समानीले भेट गरेर विश्वविद्यालयसहित पोखरिया अस्पतालको भौतिक निर्माणलगायत विभिन्न अधूरा आयोजनाहरू पूरा गराउन ध्यानाकर्षण गराएका थिए । सम्बन्धित मन्त्रीहरूले पोखरिया अस्पतालको स्तरोन्नतिका लागि यस अघि भएका निर्णयहरू कार्यान्वयनमा ल्याउने, भौतिक निर्माणका अधूरा कामहरू पूरा गराउन बजेट विनियोजन गरी पठाउने प्रतिबद्धता जाहेर गरेका नेता नेता समानीले बताए ।