नितेश कर्ण, वीरगंज, १२ भदौ/
सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवामा श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने कार्य यसपटक शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । गत वर्ष जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद भएको विषयलाई लिएर यस वर्ष जन्माष्टमीपूर्वदेखि मलङ्गवामा सुरक्षा व्यवस्था कडा गरिएको थियो । सुरक्षा व्यवस्था कडा भएकोले जन्माष्टमी र बुधवार मूर्ति सेलाउने कार्य शान्तिपूर्णरूपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले सदरमुकाम मलङ्गवासहित ग्रामीण क्षेत्रमा पनि माटोले बनाइएको भगवान् श्रीकृष्णको मूर्ति सेलाउने कार्य शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पाँच सय सुरक्षाकर्मी परिचालन भएका र जिल्लाका गतिविधिलाई ड्रोन क्यामराबाट निगरानी गरिएको बताए । सुरक्षा व्यवस्था कडा पारिएको र विभिन्न सङ्घसंस्थाले आयोजना गरेका भगवान् श्रीकृष्णको मूर्ति विभिन्न पोखरीमा शान्तिपूर्णरूपमा सेलाइएको स्थानीय धीरेन्द्र मिश्रले बताए । यस वर्ष जन्माष्टमी शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि सर्लाहीमा सक्रिय हिन्दू सम्राट नेपाल, स्थानीय प्रहरी प्रशासनले जनसमुदायसँग अपील गरेका थिए ।