प्रस, वीरगंज, १२ भदौ/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंजमा महिला पत्रकारहरू सङ्गठित भएर मिडिया हाउस सञ्चालन गर्नु सराहनीय काम भएको बताएका छन् ।
वीरगंजबाट प्रकाशित मध्य नेपाल साप्ताहिकको वार्षिकोत्सवमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सिंहले महिला पत्रकारहरूले आफूले गरेको शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रका गतिविधिलाई सञ्चारमाध्यममा ल्याउन आग्रह गरे । उनले विभिन्न सञ्चारमाध्यमहरूमा आफूविरुद्ध नकारात्मक समाचार आइरहेको बताउँदै आफूले गलत गरेको भए कारबाही भोग्न तयार रहेको बताए ।
उनले शिक्षकहरूले अध्यापन गराउन छाडेर विद्यालयमा जडान गरिएको पङ्खा खोलेर विज्ञता प्रदर्शन गरेकोमा आफूलाई हासो लागेको बताए । उनले हालका दिनमा आफूविरुद्ध थुप्रै पत्रकार लागिपरेका बताउँदै वीरगंजको विकास गर्न पछि नपर्ने बताए ।
कार्यक्रममा नगरप्रमुख सिंहले मध्य नेपाल साप्ताहिकले यस वर्ष घोषणा गरेको ११ हजार १११ राशिको मध्य नेपाल उत्कृष्ट पत्रकार महिला पुरस्कार रेडियो प्रस्तोता नीलिमा पौडेललाई प्रदान गरेका थिए ।
मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादव, पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतो, विन्ध्यवासिनी गापाकी उपाध्यक्ष ज्योति चौरसिया, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, डा सुषमा तिवारी, काङ्ग्रेस नेता अजय द्विवेदीलगायतको सहभागिता थियो ।