प्रस, वीरगंज, ११ भदौ/
खानेपानीमन्त्री प्रदीप यादवले देशभरिमा खानेपानी समस्याको समाधानका लागि एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

चितवनको पर्यटकीय क्षेत्र सौराहामा सोमवार आयोजित खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुक्दै जानु र यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता अपरिहार्य रहेको बताए ।

उनले सेता हिमाल काला हुँदै हिउँ पग्लनु, पहाडमा पानीका मुहान सुक्न थाल्नु र चुरेको दोहनले मधेसमा चापाकलहरू सुक्नुलाई जलवायु परिवर्तनका गम्भीर प्रभावहरूका रूपमा औंल्याएका थिए । उनले देशभर जलस्रोतको वैज्ञानिक अध्ययन गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । मन्त्री यादवले विश्वले निकट भविष्यमा पानीकै कारण ठूलो चुनौती सामना गर्नुपर्ने अवस्था आउने देखिएको बताउँदै नेपालले समस्या गम्भीर बन्नु अघि नै सजग हुन आवश्यक रहेको बताए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिहरूलाई व्यावसायिक उद्देश्य राखेर अघि बढ्न आग्रह गरे । महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै खानेपानीका सबै पहलमा समन्वय आवश्यक रहेको बताए ।

गोष्ठीमा विभिन्न निर्माण तथा मर्मत कार्य, पाइप बिछ्याउने समन्वय र अन्य चुनौतीहरूबारे चर्चा गर्दै विशेषज्ञहरूले गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिएका  थिए ।

सोही अवसरमा मन्त्री यादवले चितवनमा रहेका विभिन्न खानेपानी आयोजनाहरूको अनुगमन गर्दै आयोजनाहरूलाई प्रभावकारीरूपमा सञ्चालनका लागि निर्देशन पनि दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here