प्रस, परवानीपुर, ११ भदौ/
वीरगंज महानगर–१ बजार छपकैयामा धारा जडानको विषयमा विवाद भएको छ । लक्ष्मीनारायण मन्दिर नजीकै केही दिन अघि जडान भएको एक इन्चको बोरिङ (धारा) जडानमा विवाद भएको हो ।
वडा सदस्य पिन्टुसाह कानूले पहिलेदेखि धारा रहेको सोही स्थानमा अर्को धारा जडान गरेको स्थानीय अरुणकुमार गुप्ताले गुनासो गरे । उनका अनुसार डेढ वर्ष अघिदेखि खानेपानी संस्थानबाट सो स्थानमा धारा जडान भएकोमा अहिले वीरगंज महानगरको बजेटमा सोही स्थानमा धारा जडान गरिएकोले टोलवासीहरूलाई नपचेको बताए ।
उनले आफ्नो घरको चापाकल गत वैशाख महीनामा सुकिसकेको र पानीको हाहाकार भए तापनि वडा सदस्यलाई भन्दासमेत धारा जडान नगरेको तर एउटै स्थानमा दुईवटा धारा जडान गरेर गाईजात्रा देखाएको आरोप लगाए ।
वडासदस्य पिन्टु साह कानूले भने अरुणको घरअगाडि काकाको घर रहेको र सोही स्थानमा धारा जडान गरिएको बताए । उनले तीन महीना अघि पानीको समस्या भएको बेला धारा जडान भएको तर अहिले विवाद सिर्जना गराउन खोजिएको आरोप लगाए ।