भदौ ७ गते ४३ जना यात्रु बोकेर पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बस तनहुँको आँबुखैरेनीनजीकै सडकबाट मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको ज्यान गयो । १६ जनाको अहिले काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यही दिन नारायणगढ–मुङ्लिन सडकखण्डको सत्र किलो भन्ने ठाउँमा पहिरो खस्दा बस पल्टियो । त्यो घटनामा १९ जना घाइते भए । त्यस अघि असारको २८ गते सोही सडकको सिमलताल भन्ने ठाउँमा पहिरोले बगाएका दुईवटा बसको भग्नावशेष अझै फेला पार्न सकिएको छैन । नेपाली सुरक्षाकर्मीको दक्षताले खोजी कार्य प्रभावकारी भएन भन्दै भारतीय गोताखोर झिकाइयो, तर केही पत्ता लागेन । सरकारले खोजीका लागि चीन सरकारलाई पत्राचार गरेको समाचार आएका थिए । तर दुर्घटनामा बेपत्ता भएका २५ जना मानिस अझै फेला परेका छैनन् । मृत्यु भएको ठानेर परिवारजनले काजकिरिया गर्नुपरेको छ ।
नेपालमा प्रति एक लाख जनसङ्ख्यामा १४ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले देखाएको थियो । नेपाल प्रहरीका अनुसार बितेका १० वर्षमा नेपालमा सडक दुर्घटनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्यालाई आधार मान्दा दैनिक औसत सातजनाको ज्यान जाने गरेको छ । १० वर्षमा नेपालमा साना र ठूला दुई लाख ६० हजार दुर्घटना भए । यो अवधिमा ५० हजारजनाभन्दा बढी मानिस गम्भीर घाइते भए । बितेको वर्ष मात्रै दुई हजार ३६० जनाले सडक दुर्घटनामा मृत्युवरण गरे ।
बितेको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको लागि उडेको सौर्य एअरलाइन्सको विमान उडेको एक मिनेट पनि नबित्दै विमानस्थलमैं खस्यो । चालकबाहेक अन्य सबै १८ जनाको ज्यान गयो । नेपाली आकाशमा हवाई उडानको ७५ वर्षको अवधिमा ७० वटा विमान दुर्घटना भइसकेका छन् । तथ्याङ्कले प्रत्येक वर्ष एउटा हवाई दुर्घटना भएको देखाउँछ । ती दुर्घटनामा ९६४ जनाको ज्यान गएको सरकारी आँकडा छ । हेलिकप्टर दुर्घटनामा बेग्लै एक सयजनाभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क छ ।
हामीकहाँ सडक र आकाश दुवै असुरक्षित भए । यी सेवाको तिनको गुणस्तर र मापदण्डलाई बेवास्ता गरिंदा असुरक्षित यात्राको बाध्यता मात्र छैन, हजारौं मानिसले अकालमैं ज्यान गुमाउनुपरेको छ । बर्सेनि सडकमार्गको तथ्याङ्क बढेसँगै सडक दुर्घटना र त्यसबाट क्षतिको ग्राफ पनि बढेको छ । विसं २००७ मा करीब ३७० किलोमिटर रहेको नेपालको सडक अहिले एक लाख किलोमिटर नाघिसकेको छ । योमध्ये ३२ हजार किलोमिटर सडकमा बा¥है मास सवारीसाधन चल्छन् । सडक र यात्रुको सुरक्षालाई पूरै बेवास्ता गरिएको छ । यतिसम्म कि सवारीको सुरक्षालाई चुनौती दिने खालका गतिविधिमा यातायात व्यवसायीको सिन्डीकेटका अगाडि सरकार लाचार बनेका उदाहरणहरूको कमी छैन ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययन अनुसार विश्वमैं सडकमा हुने दुर्घटनामा दैनिक तीन हजार छ सय मानिसको मृत्यु हुने गरेको छ । वर्षैपिच्छे दुई करोडदेखि पाँच करोडसम्म मानिस घाइते भएका हुन्छन् । यसमा पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री बढी पर्ने गरेका छन् । पाँच वर्षदेखि २९ वर्ष उमेर समूहका अधिकांश मानिसको मृत्युको कारण सवारी दुर्घटना हो । नेपालजस्ता अल्पविकसित देशमा दुर्घटना बढी हुन्छन् । दुर्घटनामा मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी यस्तै देशका पर्छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८० ले नेपालमा सडक दुर्घटनामा पर्नेमा मोटरसाइकल चालकहरू धेरै देखिएको बताएको थियो । प्रहरीले पनि अधिकांश दुर्घटना मोटरसाइकलसँग सम्बन्धित रहेको बताउने गरेको छ । नेपालमा प्रति १० जनामा एकजनासँग मात्र सवारीसाधन छ । तर पनि बर्सेनि तीन हजारजति मानिसको मृत्युको कारण सवारी दुर्घटनासँग सम्बन्धित हुनु भनेको नसर्ने महामारीजस्तै भएको मत विज्ञहरूको छ । निम्न आय भएका देशले सडक दुर्घटनाको कारण कुल गार्हस्थ्य उत्पादनको करीब पाँच प्रतिशतको आर्थिक क्षति बेहोर्छन् । यसबाट प्रभावित परिवारको आर्थिक, सामाजिक र मनोवैज्ञानिक क्षतिको कुनै लेखाजोखा छैन ।
सीमित स्रोत साधनमा बढी विकास गर्नुपर्ने बाध्यताका कारण पूर्वाधारको गुणस्तरमा गरिने सम्झौता दुर्घटनाको कारण बनेका छन् । दुर्घटनाको दोष चालकमाथि थोपरिन्छ, तर थोत्रा सवारीसाधन र सडकको दुरवस्था पनि दुर्घटनाका कारण हुन् । गत असार २८ मा चितवनको सिमलतालमा गएको पहिरोमा परी दुईटा बस त्रिशूलीमा बगेपछि बनेको छानबीन समितिले स्थानीय सरकारले सडक निर्माणमा गरेका लापरवाहीलाई त्यो दुर्घटनाको कारणको रूपमा औंल्याएको थियो । भरतपुर महानगरले भीर खोतलेर बनाएका सडक त्यो दुर्घटनाको जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो ।
यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दुर्घटनाका मुख्य पाँच कारण औंल्याएको थियो । मानवीय, यान्त्रिक, सडक, सडक प्रयोगकर्ता र मौसमलाई दुर्घटनाको कारण भनिएको छ । चालकको ज्ञान, सीप र क्षमता, शारीरिक र मानसिक अवस्था, पैदल यात्रुको सजगतालाई मानवीय कारण ठानिएको छ । हामीकहाँ सवारी चालक अनुमतिपत्र प्राप्तिमा हुने घूसको चलखेल चालकको अदक्षताको मुख्य कारण हो । चालक अनुमतिपत्र हात परे पनि सडक अनुशासनका बारेमा ती चालक बेखबरजस्तै हुन्छन् । सडकमा सवारी चलाउँदा अरूप्रति राख्नुपर्ने सद्भाव के हो ? तिनीहरूलाई कुनै मतलब हुँदैन । चालकलाई यसबारेमा शिक्षित गर्नु र सवारी अनुशासन पालना भए/नभएको अनुगमन गरिनुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीमा चल्ने सवारीसाधनमा दुईजना चालक अनिवार्यरूपमा राख्नुपर्ने व्यवस्थाका साथै प्रत्येक चार घण्टामा थकाइ मेट्ने, चालक परिवर्तन गर्नेलगायतका व्यवस्था गरेको छ । तर यसको पालना छैन ।
साना सवारीसाधनलाई हेपेर चलाउने, क्षमताभन्दा बढी यात्रु कोच्ने, सडक नियम र सङ्केतको पालना नगर्नेजस्ता लापरवाही दुर्घटनाका कारण हुन् । सवारीसाधनको अवस्था, आकार, प्रकार, यन्त्र, ब्रेक, हर्न, बडी, भारवहन क्षमता, सवारीको गतिजस्ता मापदण्डको पालना कानूनमा मात्रै सीमित छन् । सडकको भौतिक अवस्था, सङ्केत र बारहरू, सडकको प्रयोग, सडकमा चौपायाको उपस्थितिजस्ता कारणले पनि दुर्घटना हुन्छन् । अधिकांश सडकमा सर्भिस लेन नहुनु, फूटपाथ, फ्लाईओभरजस्ता आधारभूत मापदण्ड पूरा नगरिनुले सडकमा पैदलयात्रीहरू असुरक्षित छन् । मौसमको अवस्था, बाढीपहिरोको पूर्वानुमान र सूचनाको प्रवाहले भूमिका खेलिराखेको हुन्छ ।
दुर्घटना भइसकेपछि घाइतेलाई दक्ष व्यक्तिबाट उपचारको पहुँचमा लैजाने प्रबन्ध नहुँदा घाइतेमध्ये ५४ प्रतिशतको ज्यान जाने गरेको छ । एक त दुर्घटना भइहालेमा उद्धार गर्नेभन्दा रमिता हेर्ने र भिडियो बनाउने होड शुरू हुन्छ, त्यसमा कसैले उदार गरिहाले पनि घाइतेलाई कसरी सुरक्षितरूपमा अस्पतालसम्म लैजाने भन्ने ज्ञान हुँदैन । रिक्शा, टेम्पो, ट्याक्सी जे भेट्यो त्यसैमा राखेर अस्पताल पु¥याउँदा बाटैमा ज्यान जाने गरेको छ । दुर्घटनाको सूचना दिने विशेष ठाउँ र सूचना पाउनासाथ स्वास्थ्यकर्मी टोलीले उद्धार गरिहाल्ने संयन्त्र बनाउन जरुरी छ । यसका लागि सवारी सुरक्षाको लागि एउटा स्वायत्त निकाय बनाउनुपर्छ । अहिले प्रहरी जनशक्तिबाट काम चलाइएको छ ।
दुर्घटना शून्य हुन्छ भन्ने होइन, तर व्यवस्थापकीय त्रुटिको मूल्य आम नागरिकले ज्यान दिएर चुकाइराख्नुपर्ने स्थिति मान्य हुँदैन । सडक दुर्घटना होओस् कि हवाई दुर्घटना यी सबैमा अहिलेसम्म मानवीय त्रुटिलाई मात्र दोष दिएर सामान्यीकरण गरिन्छ । दुर्घटना छानबीनका लागि बनाइने आयोगका प्रतिवेदन कार्यान्वयन नगरी थन्काइने गरेको नयाँ गुनासो होइन । यो एक प्रकारले दुर्घटनालगत्तै आलोचनाबाट बच्ने उपाय मात्र हो । यी छानबीनले पनि औसतरूपमा मानवीय त्रुटिलाई नै कारण देखाएर सुझावका केही बुँदा पेश गर्ने र प्रतिवेदन थन्क्याउने प्रवृत्तिको पुनरावृत्ति भइराखेको छ । परिणाम, हवाई सुरक्षामा अपेक्षित सुधार नहुँदा नेपाली आकाश र सेवा युरोपियन युनियनले कालोसूचीबाट हटाएको छैन । सन् २०१३ देखि अहिलेसम्म नेपालको उडानलाई कालोसूचीबाट नहटाउनुका पछाडि घातक दुर्घटनाहरूलाई कारण मानिएको छ । भोलि सडकमा पनि यो स्थिति नहोला भन्न सकिन्न ।