अहिलेसम्म विपद्बाट २११ को मृत्यु, बाग्मती र गण्डकीमा बढी क्षति

काठमाडौं, ३० साउन/रासस
नेपालमा मनसुनपछिको पछिल्लो दुई महीनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट २११ जनाको मृत्यु भएको छ ।

कुल ४८ जना बेपत्ता रहेका छन् भने १४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट १७० जना र अन्य विपद्बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छन् । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।

प्रवक्ता भट्टराईका अनुसार यसपालि सबैभन्दा बढी क्षति बाग्मती र गण्डकी प्रदेशले बेहोरेको छ । बाग्मती र गण्डकी प्रदेश दुवैमा ५८/५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेस प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा एक हजार ३३३ घटना भएकामा तीन हजार ६४७ परिवार प्रभावित भएका छन् । ४०५ वटा घटना भएको कोशीमा सबैभन्दा बढी एक हजार २१२ परिवार प्रभावित भएका जनाइएको छ ।
यस्तै, मधेसमा ५१३, बाग्मतीमा ४७१, गण्डकीमा ४३७, लुम्बिनीमा ३२६, कर्णालीमा २४० र सुदूरपश्चिममा ४४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राप्त विवरण अनुसार कोशीमा दुई, बाग्मतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता रहेका छन् ।

अघिल्लो वर्षभन्दा बढी यस वर्ष मानवीय क्षति भएको हो । अघिल्लो वर्ष सोही अवधिमा विपद्जन्य घटनामा ७२ जनाको मृत्यु भएको थियो । पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मकरूपमा काम भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । यस वर्ष औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान नै भइरहेको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्