भारत र अस्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता

नयाँ दिल्ली, २९ साउन/एएनआई

भारत र अस्ट्रेलियाबीच छैटौं समुद्री सुरक्षा संवाद मङ्गलवार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निश्शस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गरेका थिए भने अस्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एशिया तथा मध्य एशिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गरेका थिए ।

दुवै पक्षबीच समावेशी विकास र विश्वव्यापी कल्याणका लागि अनुकूल सुरक्षित समुद्री वातावरण कायम राख्ने तरीकाहरूबारे छलफल भएको छ ।

उनीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा वातावरण, मानवीय सहायता र विपद् राहत (एचएडिआर) समन्वय, क्षेत्रीय र बहुपक्षीय संलग्नता र समुद्री स्रोतहरूको दिगो प्रयोगलगायत आपसी चासोका विभिन्न विषयहरूमा विचार आदानप्रदान गरे । रासस

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्