प्रस, वीरगंज, २६ साउन/
बङ्गलादेशमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसाविरुद्ध राष्ट्रिय एकता अभियानले शनिवार काठमाडौंमा प्रदर्शन गरेको छ । विरोध कार्यक्रम अन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

अभियानका अध्यक्ष विनय यादवले सम्पन्न कार्यक्रमबारे वीरगंजका सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । अध्यक्ष यादवका अनुसार प्रदर्शनमा विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रदर्शनपछि आयोजित विरोधसभामा अभियानका अगुवा बिपी यादव, विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी, धार्मिक नेता केशव चौलागाईं, मानव धर्म सेवा समितिका इन्चार्ज सागर कटुवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले बङ्गलादेशमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने मत जाहेर गरेका छन् । उनीहरूले धार्मिक असहिष्णुताको घटना मानवीयताका लागि घातक हुने भन्दै सरकार मौन रहनु उचित नहुने बताए ।

हिंसाको कडा निन्दा गर्दै वक्ताहरूले धार्मिक हिंसाविरुद्धको एकता र सङ्कल्पलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here