पेरिस, २६ साउन/एएफपी
शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलाशलाई “अफगानी महिलालाई स्वतन्त्र गर” लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको विश्व डान्सस्पोट्र्स महासङ्घले शनिवार जनाएको छ ।

२१ वर्षीया बी–गर्ल तलाश नेदरल्यान्ड्सको इन्डिया सार्डजोविरुद्धको पहिलो प्रतिस्पर्धाको ठीक अघि शुक्रवार नारासहितको नीलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् ।

“शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलाशले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोशाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो,” डान्सस्पोट्र्स महासङ्घले विज्ञप्तिमा जनाएको छ ।

नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मेकी तलाश देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आएकी छन् ।

“मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरूका लागि, आफ्नो भविष्यको लागि देश छाडेको हो,” उनले प्रतियोगिता अघि भनेकी थिइन् ।

“मैले आफ्नो लक्ष्य पूरा गर्ने जोखिम लिएँ । मेरो ह्दयमा डर छ तर म हार मान्दिनँ,” उनले सन् २०२१ मा एएफपीलाई भनेकी थिइन् ।

पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेका तीन महिलासहित छजना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here