प्रस, बिरुवागुठी, २६ साउन/
पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा शनिवारदेखि प्रथम मुखिया कप क्रिकेट प्रतियोगिता शुरू भएको छ । रघुनाथपुर युवा समाजद्वारा आजदेखि रघुनाथपुर खेल मैदानमा आयोजना भएको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष शङ्कर रायभरले गरेका थिए । उनले वडाको चौतर्फी विकासको लागि आफू सदैव अग्रसर रहेको बताए । उनले आफ्नो प्रयासमा रघुनाथपुरको ऐलानी खेलमैदानलाई फिर्ता ल्याइ प्रतियोगिता आयोजना गरिरहेको बताए । वडाका युवाहरूका हरेक गतिविधि तथा विकासमा आफू सदैव हातेमालो गर्दै अघि बढ्दै जाने बताए ।
कार्यक्रममा पर्सागढी नपा–९ का अध्यक्ष रामबढाईप्रसाद यादवले नगरप्रमुख गोकर्ण पाठकको रवैयाको कारण अहिले पर्सागढीमा खेलकूदलगायत विकासका गतिविधि सुस्त भएको दोषारोपण गरे । वडाध्यक्ष शेख खुर्शेद आलमले वडास्तरमा मुखिया कप आयोजनाले स्थानीय खेलकूदमार्फत नयाँ खेलाडीलाई अवसर प्रदान गरेकोमा वडाध्यक्ष एवं क्लबको प्रशंसा गरे ।
रघुनाथपुर युवा समाजका अध्यक्ष शहजाद अन्सारीको अध्यक्षता एवं पत्रकार बलिराम शुक्लाको सहजीकरणमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी जयराम दास, वीरबहादुर यादव, धनसुनर सहनी, अमिका पटेललगायतको सहभागिता थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा बहुदरमाई नगरपालिकाले वीरगंज–१९ विन्ध्यवासिनीलाई पराजित ग¥यो । प्रतियोगितामा विन्ध्यवासिनीले निर्धारित १५ ओभरको खेलमा पाँच विकेट गुमाएर ७९ रन बनाएको थियो । प्रतिउत्तरमा बहुदरमाईले १३.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरी जीत हासिल गरेको थियो । प्रतियोगितामा पर्सा र बाराका १२ वटा टीम सहभागी छन् । आइतवारको खेल आयोजक पर्सागढी–७ रघुनाथपुर र वीरगंजको रानीघाटबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ६० हजार र उपविजेताले रु ३० हजार नगद, शिल्ड तथा मेडल पाउनेछन् ।