प्रस, जनकपुुरधाम, २३ साउन/ मिथिलाञ्चलमा क्षेत्रमा बुधवारदेखि झुलनोत्सव शुरू भएको छ । परम्परागतरूपमा मनाउँदै आएको धार्मिक महŒवको झुलनोत्सव साउन शुक्ल तृतीयाबाट शुरू भई पूर्णिमासम्म जारी रहन्छ ।
झुलनोत्सवको शुरूको दिन साँझदेखि भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइन्छ । यसका लागि जानकी मन्दिरबाट विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्त रामरोशनदास वैष्णवले बताए ।
यस उत्सव अवधिभर जनकपुरधामका मन्दिरहरूमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । एकातर्फ भगवान् रामजानकीलाई झुलामा राखी झुलाइन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोककथा सुनाइने गरिन्छ ।
रत्नसागर मन्दिरको झुला नाच निकै प्रसिद्ध रहेको स्थानीयको मान्यता छ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोकगीत झुला र कजरी गाइने गरिन्छ ।
जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दास वैष्णवले गराएको इतिहासमा उल्लेख छ ।
सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा भित्रिएको इतिहासकारहरू बताउँछन् ।
झुलाको आकर्षण मिथिलाञ्चलमा धानको रोपाइँ समाप्त हुनासाथ शुरू हुन्छ । यस क्रममा हरेक मठमन्दिरमा कजरी र मलार जस्ता धार्मिक महŒव झल्किने गीत सुनिन्छन् ।