प्रस, निजगढ, २३ साउन/
झट्ट हेर्दा सामान्य लाग्ने तर आस्था, श्रद्धा, मानसम्मानको दृष्टिले निकै महŒव राख्नेका मन मुटुुमा बस्न सफल नेपाली वामपन्थी कम्युनिस्ट नेता एवं नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्व मनमोहन अधिकारीको सालिक निजगढ नगरपालिकामा दुई वर्षदेखि अलपत्र अवस्थामा छ ।

‘आफ्नो गाउँ आफैं बनाऊ’ अभियानका प्रणेता नेपालको प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्व अधिकारीको सालिकको समयमा नै उचित व्यवस्थापन गर्न चासो नराख्दा घरभित्रको बन्द कोठामा थन्किएको छ । स्व अधिकारीको नाम सुन्ने बित्तिकै दलका मात्र नभई फरक धारका राजनीति गर्ने जोकोही पनि श्रद्धा, सम्मान, गर्व महसूस गर्छन् ।

सरल, सादगी जीवन, उच्च विचार, शालिन स्वभावका धनी, देश र जनताका मनमनमा बस्न सफल लोकप्रिय प्रधानमन्त्रीको नौ महीने कार्यकालमा ‘आफ्नो गाउँ आफैं बनाऊ’ र सामाजिक सुरक्षा भत्ता जस्ता चर्चित जनप्रिय कार्यबाट लोकप्रिय बन्न सफल प्रधानमन्त्री स्व अधिकारीको सालिक अलपत्र रहँदा निकै दुःख लागेको सालिक राखिएको घरधनी निजगढ नपा–४ बागदेवकी सुुभद्रा सापकोटा बताउँछिन् ।

अब चाँडै नै सालिक राख्ने ठाउँ बनाएर ठड्याउने भने पनि अहिलेसम्म पनि कोही कसैले वास्ता नगरेको उनले बताइन् । आफ्नो घरमा स्व अधिकारीको सालिक राख्दा प्रतिमहिना पाँच सयको दरले भाडा दिने बताएको तर अहिलेसम्म भाडा पनि नदिएको र सालिकको बारेमा सोधखोज पनि कसैले नगरेको भन्दै सापकोटाले दुःखेसो पोखिन् ।

बेलैमा सालिकलाई राम्रोसँग पार्क बनाएर राख्न पाए हुुन्थ्यो । नाम चलेको व्यक्तिको यसरी वर्षौंसम्म बाँधेर, छोपेर आफू सुुत्ने कोठाको कुुनामा राख्दा निकै मन दुुख्ने, नरमाइलो लाग्ने गरेको उनी बताउँछिन् ।

निजगढ नगरपालिका–४ स्थित बागभैरव सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र २०६२/६३ सालमा शहीद हीरालाल गौतम स्मृति पार्क छ । सोही वन समूहको मोहोरीमा नेपाली प्रजातन्त्रका सेनानी एवं सर्वोच्च कमान्डर स्व गणेशमान सिंहको स्मृति पार्क पनि छ ।
तर अहिलेसम्म स्व अधिकारीको सालिकको भने उचित स्थानमा व्यवस्थापन हुुन सकेको छैन । यो सालिकका लागि निजगढका

प्रथम नगरप्रमुुख सुुरेशकुुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेको कार्यकालमा १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । सो रकमबाट ढलौट धातुबाट तयार गरिएको छ फिट अग्लो पूर्ण कदको सालिक तयार गरिएको थियो ।

बस्तीनजीकैको चुरे पहाड फेद बागभैरव सामुदायिक वन समूहको वन क्षेत्रभित्र मनमोहन शीतल पार्क निर्माण गरी सालिक राख्ने भनिए पनि अहिलेसम्म केही काम हुुन नसकेको मनमोहन शीतल पार्क निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद दाहाल बताउँछन् । उनले सालिक बनाउने काठमाडौंका मूर्तिकारलाई ४०–५० हजार तिर्न बाँकी रहेको बताए ।

सो सालिकलाई आफ्नो घरबस्तीनजीकैको चुरे पहाड फेद बागभैरव सामुदायिक वन समूहको वन क्षेत्रभित्रको पोखरी आसपासको क्षेत्रमा मनमोहन शीतल पार्क निर्माण गरी सालिक राख्न नगरप्रमुुख सुरथ पुरीसँग पटकपटक भेटेर आग्रह गर्दा उनले उचित स्थानमा व्यवस्थापन गर्ने आश्वासन मात्र दिएको बताए ।

सालिकको उचित व्यवस्थापन गर्न आर्थिक वर्ष २०८०/८१ मा निजगढ नगरपालिकाले जनश्रमदानबाहेक पाँच लाख १८ हजार रकम विनियोजन गरेको थियो । सालिक राख्न तयार गर्नुपर्ने चुुरे पहाडको भिरालो जमीनमा पर्खाल लगाउन र फलामे रेलिङ लगाउनमा उक्त रकम सकिएकोले सालिक राखिने मनमोहन स्मृति वाटिकाको काम अधुुरो रहन गएको शहीद हीरालाल पार्क विकास समिति, निजगढका अध्यक्ष रमेश अर्याललेबताए ।

थप रकमबाट वाटिकामा आकर्षण संरचना बनाइ उक्त सालिक राख्ने योजना रहे पनि रकम अभावले कार्य अगाडि बढाउन नसकिएको अध्यक्ष अर्यालको भनाइ छ ।

नगरप्रमुख पुरीले थप रकम विनियोजन गरी सालिकको उचित व्यवस्थापन गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here