साथीको गाडीमा करीब ४४० किलोमिटरको यात्रा गरेर रक्तदाता इन्दौर पुगे । उनले महिलाको जीवन बचाउन आफ्नोतर्फबाट केही योगदान गर्न सक्ने भएकोले आफूलाई राम्रो लागेको बताए ।

महाराष्ट्रको शिरडीका एक फूल व्यवसायीले कारमा ४४० किलोमिटर यात्रा गरी दुर्लभ ‘बम्बे’ समूहको रक्तदान गरेर ३० वर्षीया महिला बिरामीको ज्यान बचाउन मदत गरेका छन् । शिरडीमा फूलको थोक व्यापार गर्ने रवीन्द्र अष्टेकर शनिवार (मे २५) इन्दौर पुगेर स्थानीय अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएकी महिलाका लागि ‘बम्बे’ समूहको रक्तदान गरेको उनले बताए ।

अष्टेकरले आफूलाई यो महिलाको गम्भीर अवस्थाको बारेमा ह्वाट्सएपमा रक्तदाताहरूको समूहबाट थाहा भयो र म मेरो साथीको कारमा ४४० किलोमिटर यात्रा गरेर इन्दौर पुगेको बताए । उनले भने, “म पक्कै राम्रो महसूस गर्छु किनभने मैले महिलाको जीवन बचाउन मेरोतर्फबाट केही योगदान गर्न सकें ।”

उनले विगत १० वर्षमा गृहराज्य महाराष्ट्रका साथै गुजरात, उत्तर प्रदेश र मध्य प्रदेशका विभिन्न शहरमा आठपटक खाँचोमा परेका बिरामीलाई रक्तदान गरेको बताए । इन्दौरको सामाजिक संस्था ‘दामोदर युवा सङ्गठन’ को ब्लड कल सेन्टरका प्रमुख अशोक नायकले महिला बिरामीका लागि दुर्लभ ‘बम्बे’ समूहको रगत सङ्कलनमा सहयोग गरेका थिए । उनले ती महिलाका लागि दुई युनिट रगत नागपुरबाट हवाईमार्गबाट इन्दौर ल्याएको बताए, जबकि बिरामीकी बहिनीले इन्दौरमा सो रक्त समूहको एक युनिट रक्तदान गरेकी थिइन् ।

इन्दौरको सरकारी महाराजा यशवन्तराव अस्पतालको ‘ट्रान्सफ्युजन मेडिसिन’ विभागका प्रमुख डा अशोक यादवले एक अर्को अस्पतालमा प्रसूतिको लागि शल्यक्रियाको क्रममा गलतीले एक महिलालाई संयोगवश ‘ओ’ पोजिटिभ समूहको रगत चढाइएको बताए । जसका कारण उनको अवस्था बिग्रियो र मिर्गौलाले काम गर्न छोड्यो । उनले भने, “जब महिलाको अवस्था बिग्रँदै गयो, तब उनलाई इन्दौरको रोबट्र्स नर्सिङ होममा भर्ना गरियो, त्यस बेला महिलाको शरीरमा हेमोग्लोबिनको स्तर लगभग चार ग्राम प्रतिडेसिलिटरमा झरेको थियो । जबकि स्वस्थ महिलाको हेमोग्लोबिनको स्तर १२ देखि १५ ग्राम प्रतिडेसिलिटर हुनुपर्छ ।”

‘बम्बे’ समूहको चार युनिट रगत चढाएपछि महिलाको अवस्था पहिलेभन्दा राम्रो भएको डा यादवले बताए । यो दुर्लभ समूहको रगत महिलालाई समयमैं नदिएको भए उनको ज्यान जोखिममा पर्ने निश्चित रहेको उनले बताए । ‘बम्बे’ रक्त समूह सन् १९५२ मा पत्ता लागेको थियो । यो अत्यन्तै दुर्लभ रक्त समूह भएका मानिसहरूलाई सोही रक्त समूहका मानिसले मात्र रक्तदान गर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here