काठमाडौं, २३ साउन/रासस
भारतले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा बुधवार भएको फाइनल खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित ग¥यो । खेलको पाँचौं तथा निर्णायक सेट १५–५ को जीत निकाल्दै भारतले उपाधि जितेको हो ।
खेलको पहिलो सेट नेपालले जित्यो । करीब ३० मिनेट चलेको उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगातार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।
खेलको दोस्रो सेट भने नेपालले गुमायो । करीब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जीत निकाल्यो । खेलको तेस्रो सेटको शुरूआत राम्रो गरेको नेपालले शुरूमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पा¥यो ।
नेपालले यसअघि सन् २०१९ मा दक्षिण एशियाली खेलकूद सागमा भारतसँग बेस्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।
फाइनलमा युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनीता डङ्गोल, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव टङ्गलाल घिसिङलगायतको उपस्थिति थियो ।