सिराहा, २३ साउन/रासस
हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माणमा दबाब दिन सिराहाका इन्जिनीयरहरूले आन्दोलन घोषणा गरेका छन् । सिराहाका इन्जिनीयरहरूको अगुवाइमा गठित सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन् ।
सङ्घर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मङ्गलवार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरूबीच छलफल भएको थियो । उक्त छलफलबाट दबाब सिर्जनास्वरूप आन्दोलनको कार्यक्रम तय गरेको हो । जस अन्तर्गत भोलि बिहीवार सिराहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम छ । आगामी आइतवार सिराहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुसयात्रा गर्ने सङ्घर्ष समितिले जनाएको छ । पुल पुनर्निर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रम गरिने समितिका संयोजक यादवले बताए ।
मधेसको दीर्घकालीन महŒव बोकेको कमला पुल निर्माण नहुँदा सिराहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउन जान सास्ती भोग्दै आएका छन् । बाढी आएको समयमा तीन गुणा बढी दूरी पार गरेर मात्र जनकपुर आवतजावत गर्नुपर्ने बाध्यता छ ।
प्रदेश तथा सङ्घीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ । करीब १३ वर्षअघि निर्माण सम्पन्न भई उद्घाटनको तयारी गरिएको बेला कमला नदीमा आएको बाढीले पुल भासिएको थियो । उक्त पुल अझै पुनः निर्माण हुन नसकेको हो ।
केही दिन अघि मात्रै मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए । मुख्यमन्त्री सिंहले मधेसको ‘लाइफलाइन’ मानिएको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए ।