चितवन, २३ साउन/रासस
चितवन राष्ट्रिय निकुञ्जले वर्षात्को समयमा हुन सक्ने चोरीशिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षात्को समयमा खोला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न कठिन हुने भएकाले फरक ढङ्गले ती ठाउँहरूको निगरानी हुनेगरी रणनीति बनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज कार्यालय र सुरक्षार्थ खटिएको नेपाली सेना संयुक्तरूपमा बसेर संवेदनशील ठाउँहरूको पहिचान गरी ती ठाउँहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । हरेक हप्ता समीक्षा गर्दै सुरक्षा रणनीतिलाई फरक ढङ्गले कार्यान्वयन गरिंदै आएको उनले बताए ।

तिवारीका अनुसार जीप तथा गाडी सबै ठाउँमा पुग्न नसक्ने भएकाले यतिबेला हात्ती गस्तीलाई प्राथमिकता दिइएको छ । निकुञ्जमा ५४ वटा हात्ती छन् । तीमध्ये बच्चा, गर्भवती र अशक्तबाहेकलाई गस्तीमा प्रयोग गरिएको छ । यसैगरी, नदी तटीय क्षेत्रमा डुङ्गाको प्रयोग गरिंदै आएको छ भने पैदल, साइकल गस्ती पनि नियमित हुँदै आएको छ । सम्भव हुने ठाउँहरूमा जीप तथा गाडीमा समेत गस्ती भइरहेको उनले बताए ।

निकुञ्जभित्र ६७ स्थानमा पोस्ट छन् । ती पोस्टमा नेपाली सेना र निकुञ्ज कर्मचारी बसेर सुरक्षाको काम गरिरहेका छन् । निकुञ्जले लामो, मध्यम र छोटो पेट्रोलिड्ढो काम गरिरहेको छ ।

दुई साताभन्दा बढी विभिन्न क्षेत्रमा रात बिताउने गरी गस्तीको काम भइरहेको छ । मध्यममा एक साता हाराहारी र छोटोमा एक/दुई दिनको जङ्गलका ठाउँठाउँमा क्याम्प बनाएर बसेर सुरक्षा दिने गरिएको छ । निकुञ्जले कुनै ठाउँमा तत्काल परिचालन हुन परेमा तयारी हालतमा हात्तीसहितको टोली राख्ने गर्छ । यसले विपत्मा समेत काम गर्ने गरेको छ । सिमलताल बस दुर्घटनामा निकुञ्ज क्षेत्रमा हात्तीसहितको यो टोलीले खोजीसमेत गरेको थियो ।

सूचना अधिकारी तिवारीका अनुसार आवश्यकता अनुसार ड्रोन उडाउनेसमेत गरिंदै आएको छ । यससँगै एसपिवाई क्यामरा राखेर ठाउँठाउँमा निगरानी गरिंदै आएको छ । यो क्यामरा गोप्यरूपमा संवेदनशील क्षेत्रमा राखिन्छ । यसलाई निकालेर त्यहाँको अवस्था निगरानी गर्ने गरिएको छ । आवश्यकता परेको ठाउँमा स्थानीय सामुदायसँग सहकार्य गरेर गस्तीका काम गरिएका छन् । समुदायमा आधारित चोरीशिकार नियन्त्रण एकाइ चोरीशिकार नियन्त्रण र सुराकीमा खटिइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैंडा, पाटेबाघलगायत वन्यजन्तुको मुख्य बासस्थान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here