ढाका, २३ साउन/एएनआई
बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएशन (एससिबिए)का अध्यक्ष एवं महबूब उद्दीन खोकनले विद्यार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्द गर्न भारतसँग आग्रह गरेका छन् ।

एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौंको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र बङ्गलादेश फिर्ता गर्न जोड दिए ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरेका छन् भने आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गरेका छन् ।

बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा शुरू भएको विरोध प्रदर्शन निवर्तमान सरकारको अतिवादी रवैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टर चढी भारत जान बाध्य बनिन् ।

यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद् विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न निर्देशन दिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here