प्रस, वीरगंज, २२ साउन/
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विषयमा सरकारले गर्न सक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका छन् ।
मङ्गलवार कारखानाको स्थलगत अनुगमन गर्दै उनले कारखानाको विषयमा आगामी दिनमा मन्त्रालयमा छलफल गरेर सहयोग गर्ने आश्वासन दिए । उनले कृषि औजार कारखानाको विषयमा पर्याप्त जानकारी भएपछि मात्रै निर्णय गर्न सहज हुने बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीरगंजका इन्चार्ज इन्जिनीयर रितेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको विषयमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए । केन्द्रका अध्यक्ष पुनले सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए । उनले आगामी दिनमा नयाँ सोच र ढङ्गबाट अघि बढ्न जरुरी भएको प्रतिक्रिया दिए । कृषि औजार कारखानामा निकै पुराना खालका औजारका मेशीन छन् । त्यसैले अब आधुनिक मेशीन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक भएको उनले बताए ।
कृषि औजार कारखाना सञ्चालन समितिका संयोजक तथा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन दशकदेखि बन्द कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालन गर्न केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको बताए । केन्द्रले योजना निर्माण, जनशक्ति विकास र कृषि औजार उत्पादन तथा बजारीकरण गर्नेछ, उनले जानकारी गराए । कारखानाबाट उत्पादित सामग्री करपछिको रकम ५० प्रतिशत राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गरी राखिने र बाँकी ५० प्रतिशत सरकारको राजस्वमा जम्मा हुने प्रमुख भन्सार प्रशासक पन्थीले बताए ।
सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । केन्द्रले कारखाना जिम्मा लिएको २२ महीनामा १८–२० थरीका कृषि औजार तथा उपकरण तयार पारिसकेको छ ।
कारखानाका इन्चार्ज देवले केन्द्रले छोटो अवधिमा कारखानामा रहेका पुराना र जीर्ण उपकरण मर्मतसम्भार गरी सञ्चालन गर्न सक्ने अवस्थामा ल्याएको जानकारी गराए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा दीपक खरेल, सहसचिव डा रामकृष्ण श्रेष्ठ, कृषि सामग्री कम्पनीका प्रमुख विष्णु पोखरेललगायतको सहभागिता थियो ।