प्रस, वीरगंज, २२ साउन/
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई प्राथमिकतामा राख्न दुवै भन्सार कार्यालयका प्रमुखलाई निर्देशन दिएका छन् ।
सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंज र वीरगंज भन्सार कार्यालयको अनुगमन गर्दै उनले विदेशबाट आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउन आग्रह गरे । उनले रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपरेको बताउँदै छिटोछरितो काम गर्न निर्देशन दिए ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउने बित्तिकै भन्सार पास हुने गरेको बताए । उनले विदेशी मुलुकबाट आयात गरिने रासायनिक मलको ल्याबमा प्राविधिक जाँच गर्नुपर्ने तथा प्रयोगशालामा मलको जाँच नगरीकन कृषकलाई वितरण गर्न नमिल्ने बताए । रिपोर्ट आएपछि सोही अनुसार छिटोछरितो काम गरिरहेको बताए ।
एकीकृत जाँचचौकीमा भारतबाट मालवाहक सवारीसाधन तथा टे«लरमा रासायनिक मल र अन्य वस्तु तथा सामान आउने गरेको उनले बताए ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले कार्गाेबाट आउने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण भइरहेको बताए ।
कृषि सचिव दीपककुमार खरालले केरा र अन्य फलफूलको ‘एचएस कोड’ एउटै हुँदा स्वदेशी केराखेती गर्ने कृषक मर्कामा परेकाले पनि यो समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरे । मन्त्री अधिकारीले आजै खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टाइन कार्यालय (आइसिपी) र कृषि सामग्री केन्द्र प्रादेशिक कार्यालयलगायतको अनुगमन निरीक्षण गरेका थिए ।