बलिराम शुक्ला, बिरुवागुठी, २२ साउन/
पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा धान रोपाइँ गरेका किसानहरू मङ्गलवार बिहानदेखि परेको वर्षाको कारण खुशी भएका छन् ।
२० दिनदेखि एक महीनाभित्र धान रोपाइँ गरेका किसानहरूले वर्षा भएपछि खेत सिञ्चित भएको र धान गोडमेल गरी मलखाद छर्न थालेका छन् ।
पर्सागढी नगरपालिका–३ का किसान लक्ष्मण महतोले तीन सातादेखि वर्षा नहुँदा अत्यधिक गर्मीका कारण किसानले रोपेको धानबाली पहेंलिएर विभिन्न रोग, कीरा लाग्न थालेको बताए । उनले समयमा धानबालीलाई पानी चाहिने हुँदा वैकल्पिक सिंचाइको व्यवस्था गरिरहेका बेला आज बिहानदेखि वर्षा भएपछि राहत महसूस भएको बताए ।
वर्षा भएपछि रोग र कीराको प्रकोप न्यून हुने र धानबालीको लागि पानी अमृतसमान भएको उनले बताए ।
हिजोसम्म अत्यधिक गर्मी तथा चर्को घामका कारण धानखेतमा घाँसपात उम्रिएको र गोडमेल गर्न गा¥हो भइरहेको अवस्थामा आज बिहान पानी परेपछि गोडमेल गर्न पनि सजिलो भएको किसानहरूको भनाइ छ ।