सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले मङ्गलवार वीरगंज–११ मुर्लीचोकमा जेब्रा क्रसिङबाट बाटो काट्न सर्वसाधारण बटुवाहरूलाई प्रशिक्षण दिएको छ ।
केन्द्रका पदाधिकारीहरूले पैदल यात्रीलाई जेब्रा क्रसिङबाट बाटो काट्दा दायाँ बायाँ हेरेर मात्र बाटो काट्न तथा साइकलयात्रीलाई सडकको छेउबाट साइकल चलाउन जानकारी गराएका थिए । वीरगंजका बटुवाहरू जथाभावी सडक काट्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटना बढेकाले यस प्रकारको प्रशिक्षण दिइएको सामुदायिक सेवा केन्द्र, श्रीपुरका सचिव कुलनारायण प्रधानले बताए ।
कार्यक्रममा केन्द्र श्रीपुरका उपाध्यक्ष जयलाल साह, प्रहरी हवलदार सुभाषप्रसाद यादव, प्रहरी जवान अवरेन राय, राजुप्रसाद चौरसिया, निर्मल ताम्राकार, मधु सिंह राजपूतलगायतको सहभागिता थियो ।