पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बेपत्ता भएका दुईजना व्यक्तिको अवस्था अझै अज्ञात छ ।
साउन १५ गते मकवानपुरबाट गाँजा बोकेर आएका चारजनाले विजयबस्तीमा गाँजा पु¥याएर रामभौरीभाथास्थित दुग्धेश्वर महादेव मन्दिरको दर्शन गरी फर्किएको बताइन्छ ।
फर्किने क्रममा शीतलपुरको घना जङ्गलमा उनीहरूको हात्तीसँग जम्काभेट भएको थियो । हात्तीले आक्रमण गर्न थालेपछि चारैजना भाग्ने क्रममा दुईजनाको अवस्था हालसम्म अज्ञात रहेको पर्सा राष्ट्रिय निकुञ्ज रामभौरीभाथा पोस्टका रेन्जर चुमन ठाकुरले बताए ।
बेपत्ता भएका दुईजना मकवानपुर जिल्ला, राक्सिराङ गाउँपालिका–२ टुमकीका ३२ वर्षीय राजकुमार नेगी र मनहरी गाउँपालिका–५ दिलीपुरका रामकुमार मोक्तान रहेको रेन्जर ठाकुरले बताए । हात्तीको आक्रमणबाट जोगिएका दुईजनाले आफूलाई दुग्धेश्वर महादेवको दर्शन गर्न आएको र फर्किने क्रममा दुईजना साथी बेपत्ता भएको जानकारी गराएपछि नेपाली सेनासहितको टोलीले हिजो र आज खोजतलाश गरिरहेको रेन्जर ठाकुरले बताए ।
बेपत्ता भएका दुईजनासहित चारजना निकुञ्जको निषेधित क्षेत्रबाट प्रवेश गरेकाले उनीहरू गाँजा कारोबारी भएको अनुमान गरिएको छ । निकुञ्जको सो बाटो मुख्यतः चोरी शिकारी र लागूऔषधका कारोबारीहरूले प्रयोग गर्दै आएका छन् ।
गाँजा कारोबारीहरू निकुञ्ज अन्तर्गत मकवानपुरको लोथर, मनहरी, राक्सिराङ, दिलीपुर, मथनी, रामभौरीपोस्ट भएर पर्साको ठोरी गापाको शिकारीवास, गडुवालाइन, चारभैया, विजयबस्ती, सुवर्णपुर, पटेर्वासुगौली गापा र पर्सागढी नगरपालिकामा निस्कने गर्छन् । यो बाटो भएर सामान्य मानिसहरूको हिंड्डुल हुँदैन । मकवानपुरको लोथर, मनहरी र राक्सिराङबाट पर्साका ठोरी, पटेर्वासुगौली, जीराभवानी र पर्सागढी नपासम्मको यात्रा बढीमा तीन दिनको हुन्छ ।
निकुञ्जले यो क्षेत्रबाट आवतजावतका लागि निषेध गरेको कारण चोरी शिकारी र लागूऔषधका कारोबारीले प्रयोग गर्दै अFएका हुन् । चारजना पनि ६० किलो गाँजासहित विजयबस्तीमा आएका र गाँजा पुु¥याएर फर्कने क्रममा जङ्गलमा हात्तीको आक्रमणमा परेको स्रोतको दाबी छ ।
निकुञ्ज प्रशासनले भने गाँजाको बारेमा तथ्य खुलिनसकेकोले यसबारेमा प्रतिक्रिया दिन चाहेन । हामीलाई
हात्तीको आक्रमणमा परेको कुरा आएको र सोही अनुरूप हिजो सोमवार र आज मङ्गलवार हराएका दुईजनाको खोजी कार्य गरिएको निकुञ्जका रेन्जर ठाकुरले बताए ।