प्रस, जनकपुरधाम, २२ साउन/

मन्त्रालयका कर्मचारीहरूले काममा सा¥है लापरवाही गरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सचेत गराएका छन् ।

प्रदेशको अर्थ मन्त्रालयले मङ्गलवार जनकपुरमा आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्तव्य व्यक्त गर्दै  मुख्यमन्त्री सिंहले कर्मचारीलाई सचेत गराएका  हुन् । “मन्त्रालयका कर्मचारीहरूमा  काम गर्ने जाँगर देखिएन । लापरवाही बढेको छ,” मुख्यमन्त्री सिंहको भनाइ थियो ।

उनले लापरवाहीको उदाहरण  दिंदै भने, “कतिसम्म लापरवाही छ  भने, नयाँ सरकार आएको दुई महीना पुग्न लागेको छ । तर अहिलेसम्म  कुनै मन्त्रालयको वेबसाइट अद्यावधिक छैन । १०/११ वटा मन्त्रालयका वेबसाइटहरू अझ अद्यावधिक नै भएका छैनन् । यो कतिसम्म जायज कुरा हो ?”

गोष्ठीमा मुख्यमन्त्री सिंहले  सचिवदेखि लिएर अन्य तहका कर्मचारीहरूको ढिलासुस्तीका  कारण प्रदेश सरकारको कामको परिणाम नदेखिएको भन्दै आक्रोश  पोखे ।

उनले अगाडि थपे, “सामान्य कुरो मन्त्रालयका वेबसाइटहरूसमेत अद्यावधिक नगर्ने कर्मचारीहरूबाट सर्वसाधारण सेवाग्राहीको काम हुन्छ भनेर कसरी विश्वास गर्ने ?” “सेवाग्राहीको आज हुने काम आजै गर्नुस्, भोलि या पर्सि हुन्छ भनेर ढिलाइ नगर्नुस् । बरु जनताको काम छिटोछरितो गर्न के गर्नुपर्छ भन्नुस् सरकारले त्यो काम गर्नेछ । तर आज हुने काम भोलि वा पर्सि भनेर टारेको म सुन्न चाहन्नँ । किनकि यसरी सरकारको कामको परिणाम देखिंदैन ।”

सरकारको तर्फबाट गर्नुपर्ने र राजनीतिक सामञ्जस्यता मिलाउने कार्यमा आफू सदा लागिपर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री सिंहले काम गर्ने सवालमा कुनै पनि अप्ठ्यारो आए आफूलाई जानकारी गराउन आग्रह गरेका छन् ।

मधेस सरकारका सबै मन्त्रालयका कर्मचारी, आयोगका प्रतिनिधिहरू तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यशाला गोष्ठी अर्थमन्त्री सुनीलकुमार यादवको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here