प्रस, सप्तरी, २२ साउन/
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रूपनी बजारमा मङ्गलवार रेकर्ड तोड वर्षा भएको छ । इतिहासमैं अति भारी वर्षा भएको जलवायु मापन केन्द्रले जनाएको छ ।

रूपनीमा सोमवार साँझ ६ः३० बजे देखि मङ्गलवार बिहान १०ः३० बजेसम्मको वर्षा रेकर्ड गर्दा प्रतिघण्टा ७० मिलिमिटर वर्षा मापन भएको केन्द्रले जनाएको हो ।

यो परिमाण गत ३१ वर्षयताको ऐतिहासिक दोस्रो ठूलो परिमाण हो । रूपनी क्षेत्रको लागि भने यो अहिलेसम्मकै ठूलो वर्षा हो । सन् १९९३ मा कुलेखानीमा आरीघोप्टे वर्षा (क्लाउड ब्रस्ट) हुँदा प्रतिघण्टा ६५ मिलिमिटर वर्षा भएको थियो ।

त्यसपछि गत असार २३ र २४ गते कञ्चनपुरमा भएको आरीघोप्टे वर्षाको बेला हनुमाननगर केन्द्रमा एक घण्टाको अवधिमा १०२ मिलिमिटर वर्षा भएको थियो । यो अहिलेसम्मको पहिलो ठूलो वर्षा मापन रेकर्ड कायम रहेको छ ।

मङ्गलवार साँझसम्म सप्तरीमा वर्षाले कुनै क्षति नपुगेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए । “जिल्लामा अवस्था सामान्य छ, क्षति केही छैन,” प्रजिअ मङ्ग्रातीले भने।

साना खोलाहरूमा बाढी आएको छ भने कोशी नदीको बहाव सामान्य रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here